काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूलाई प्रधानमन्त्री, प्रहरी नेतृत्व, नेपाली सेना र विदेशी दूतावाससम्म पहुँच रहेको भन्दै प्रभावमा पार्न खोजेको आरोप लागेका बिचौलिया इनम सापकोटाको गतिविधिबारे नयाँ खुलासा भएको छ। सापकोटाको शंकास्पद गतिविधिबारे न्यायाधीशहरूले प्रहरी नेतृत्वलाई जानकारी गराउँदा उल्टै आफूहरूलाई सतर्क रहन सुझाव दिइएको न्यायाधीश हरिप्रसाद फुयालले बताएका छन्।
बिहीबार सर्वोच्च अदालतमा सञ्चारकर्मीसँग कुरा गर्दै न्यायाधीश फुयालले सापकोटाले सुरुमा स्वतन्त्र न्यायपालिका र सुशासनका विषय उठाएर न्यायाधीशहरूसँग सम्बन्ध विस्तार गरेको तर पछि विचाराधीन मुद्दामा दबाब दिन थालेको खुलासा गरेका हुन्।
उनका अनुसार सापकोटाले आफूलाई मित्रराष्ट्रको दूतावासको प्रतिनिधि, मेडिकल डाक्टर तथा विदेशी गुप्तचर निकायसँग निकट रहेको व्यक्तिका रूपमा प्रस्तुत गर्थे। प्रधानमन्त्री, प्रधानसेनापति र प्रहरी महानिरीक्षकसम्म आफ्नो सीधा पहुँच रहेको भन्दै न्यायाधीशहरूलाई आफूले सहयोग गर्न सक्ने आश्वासनसमेत दिने गरेका थिए।
त्यतिबेला सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति र न्यायाधीशहरूमाथि महाभियोग लाग्न सक्ने चर्चाले त्रासको वातावरण रहेको फुयालले बताए। यही परिस्थितिको फाइदा उठाउँदै सापकोटाले न्यायाधीशहरूसँग निकटता बढाएको उनको भनाइ छ।
विचाराधीन मुद्दामा प्रधानमन्त्रीको नाम लिएर दबाब
फुयालका अनुसार सुरुका दुई महिना सापकोटाले स्वतन्त्र न्यायपालिका र सुशासनका विषयमा कुरा गर्ने गरेका थिए। तर, पछि उनले अदालतमा विचाराधीन मुद्दाहरूमा चासो देखाउँदै आफूअनुकूल आदेश गराउन दबाब दिन थाले।
विशेषगरी हिमालयन रि–इन्स्योरेन्ससँग सम्बन्धित रोहित गुप्ताको बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दामा सापकोटाले प्रधानमन्त्रीको नाम लिँदै गुप्तालाई थुनामै राख्नुपर्ने दबाब दिएको फुयालको भनाइ छ।
तर, फुयाल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले गुप्तालाई २ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
उक्त आदेशपछि सापकोटा असन्तुष्ट बनेको र होटल हिमालयमा न्यायाधीशहरूसँगको भेटमा प्रधानमन्त्री असन्तुष्ट रहेको तथा महाभियोग आउन सक्ने चेतावनी दिएको फुयालले बताएका छन्।
उक्त भेटका क्रममा सापकोटाले होटलको बिलसमेत अर्कै व्यक्तिको नाममा राख्न लगाएको देखेपछि आफूलाई उनीप्रति थप शंका लागेको फुयालको भनाइ छ।
प्रहरी नेतृत्वले नै सतर्क रहन सुझाव दिएको दाबी
सापकोटाको गतिविधि शंकास्पद लागेपछि न्यायाधीश फुयालले नेपाल प्रहरीका महानिरीक्षकको सचिवालयमा सम्पर्क गरेका थिए। उनले सापकोटाको तस्बिर र फोन नम्बर देखाउँदै उक्त व्यक्तिबारे जानकारी मागेको बताएका छन्।
फुयालका अनुसार दुई दिनपछि प्रहरी सचिवालयबाट उनी उच्च पहुँच भएका व्यक्ति रहेको र आफूहरू पनि उनीबाट जोगिएर बसेको भन्दै न्यायाधीशहरूलाई समेत सतर्क रहन सुझाव दिइएको थियो।
प्रहरी नेतृत्वबाटै यस्तो जवाफ आएपछि न्यायाधीशहरू थप अन्योलमा परेको उनले बताए। प्रधानमन्त्रीको सचिवालयबाट पनि सापकोटासँग कुनै सम्बन्ध नरहेको अनौपचारिक जानकारी आएको उनको भनाइ छ।
सेनाको समन्वयपछि पक्राउ सम्भव भएको दाबी
प्रहरीबाट अपेक्षित सहयोग नपाएपछि करिब ६–७ जना न्यायाधीशको सल्लाहमा नेपाली सेनाका पूर्व तथा बहालवाला नेतृत्वसँग सम्पर्क गरिएको फुयालले बताएका छन्।
उनका अनुसार न्यायाधीशहरूले सापकोटाको तस्बिर, फोन नम्बर, संवाद र दबाबका विवरण सेनाको नेतृत्वलाई उपलब्ध गराउँदै आफूहरू असुरक्षित भएको जानकारी गराएका थिए।
सेनाले उक्त सूचनालाई गम्भीरतापूर्वक लिएर समन्वय गरेपछि मात्रै सापकोटा पक्राउ पर्न सम्भव भएको फुयालको दाबी छ।
सापकोटाले देशमा ठूलो आन्दोलन र सैनिक कु हुन सक्ने भन्दै न्यायाधीशहरूलाई मनोवैज्ञानिक दबाबसमेत दिने गरेको उनले बताएका छन्।
न्यायाधीश फुयाल भन्छन्– कुनै गलत काम गरेको छैन
सापकोटा प्रकरणमा आफ्नो नाम जोडिएपछि फुयालले आफू कुनै पनि गलत गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेका छन्। न्यायाधीशहरूले नै सापकोटाको गतिविधिबारे उजुरी र जानकारी गराएको अवस्थामा आफूलाई गलत रूपमा प्रस्तुत गरिएको उनको गुनासो छ।
उनले छानबिन निष्पक्ष हुनुपर्ने र न्यायिक निष्पक्षताका लागि आवश्यक अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन्।
यद्यपि, सापकोटा र न्यायाधीश फुयालबीच विचाराधीन मुद्दाका विषयमा भएको ह्वाट्सएप संवाद तथा भेटघाटका विवरणसमेत सार्वजनिक भएका छन्। ती विवरणले न्यायालयभित्र बिचौलियाको पहुँच र प्रभावबारे थप प्रश्न उठाएका छन्। फुयालले भने सापकोटाको प्रभावमा परेर कुनै आदेश वा फैसला नगरेको दाबी गरेका छन्।
सापकोटा अहिले प्रहरी हिरासतमा छन्। उनको मोबाइलबाट प्राप्त संवाद तथा अन्य विवरणका आधारमा उच्चपदस्थ व्यक्ति र न्यायिक क्षेत्रसँग जोडिएका विषयमा अनुसन्धान भइरहेको छ। यस प्रकरणमा सार्वजनिक भएका आरोप र विवरणको अन्तिम सत्यता भने अनुसन्धानबाटै स्पष्ट हुनेछ।

































