काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बलात्कार र भ्रष्टाचारका घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाही हुने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले बलात्कार तथा हत्याका घटनाको लामो सूची रहेको उल्लेख गर्दै यस्ता अपराध नियन्त्रणका लागि राज्यले कठोर कदम चाल्नुपर्ने बताए।
सांसद सुनारले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रुपन्देहीकी अंगिरा पासी, खोटाङकी रेस्मिका परियार, म्याग्दीकी मिना परियारलगायतका घटनालाई स्मरण गरे। हालै गरिमा चौधरीको बलात्कार तथा हत्या भएको घटनाले पनि गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो।
उनले पीडितका नाममा लामो बहस र छलफल मात्र गरेर समस्या समाधान नहुने भन्दै महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न राज्य गम्भीर बन्नुपर्ने बताए।
सांसद सुनारले बलात्कार तथा भ्रष्टाचारजस्ता अपराधमा कुनै किसिमको सम्झौता गर्न नहुनेमा जोड दिँदै दोषी प्रमाणित भएपछि अत्यन्त कडा र तत्काल कारबाही हुने कानुनी व्यवस्था गर्नुपर्ने माग गरे।
उनले महिलामाथि हुने हिंसा अन्त्य गर्न प्रभावकारी कानुन र त्यसको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको बताए।





































