काठमाडौं । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले बाढी प्रभावित क्षेत्रका घाइते बिरामीको निःशुल्क उपचार गर्ने भएको छ।
रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बुधबार बिहान आएको बाढीबाट प्रभावित तथा घाइते भएका नागरिकको उपचारका लागि काठमाडौं मेडिकल कलेजअन्तर्गत दुवाकोट, भक्तपुरस्थित अस्पतालमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको हो।
अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला अशक्त तथा घाइते नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। बाढीबाट प्रभावित नागरिकको अवस्थालाई ध्यानमा राख्दै मानवीय संवेदनाका आधारमा निःशुल्क उपचारको व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
अस्पतालले बाढीबाट प्रभावित घाइते बिरामीलाई दुवाकोटस्थित अस्पतालमा आएर निःशुल्क उपचार सेवा लिन आग्रह गरेको छ। साथै, घाइते बिरामीलाई अस्पतालसम्म पुर्याउन सचेत नागरिक, संघसंस्था तथा सहयोगी व्यक्ति र निकायलाई सहजीकरण गरिदिन अनुरोध गरिएको छ।
अस्पतालका अनुसार औषधि तथा औषधिजन्य सामग्रीबाहेक अस्पतालमा उपलब्ध सम्पूर्ण उपचार सेवा निःशुल्क हुनेछ।
निःशुल्क उपचारसम्बन्धी थप जानकारी तथा समन्वयका लागि ९८०२३९४४७९, ९७०००९८८९०, ९८०२३३५१०८ र ९७०००४३७२१ नम्बरमा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ।


































