काठमाडौं । नेपाल र चीनबीचको हवाई सम्पर्क थप सहज हुने भएको छ। हिमालय एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि काठमाडौं–सांघाई रुटमा नियमित सीधा उडान पुनः सञ्चालन गर्ने भएको हो।
उडान पुनः सञ्चालन भएसँगै नेपाल र चीनको प्रमुख व्यापारिक तथा वित्तीय केन्द्र सांघाईबीच प्रत्यक्ष हवाई सम्पर्क पुनःस्थापित हुनेछ। कम्पनीका अनुसार यसले नेपाली तथा चिनियाँ यात्रुलाई दुई शहरबीच सहज र छिटो यात्रा गर्न सहयोग पुग्नेछ।
हिमालय एयरलाइन्सले प्रारम्भिक चरणमा काठमाडौं–सांघाई रुटमा सातामा दुई उडान सञ्चालन गर्ने जनाएको छ। काठमाडौं–सांघाई उडान सोमबार र शुक्रबार तथा सांघाई–काठमाडौं उडान मंगलबार र शनिबार सञ्चालन हुनेछ।
सेप्टेम्बर २८ देखि अक्टोबर २३ सम्म काठमाडौं (KTM) बाट सांघाई (PVG) जाने उडान स्थानीय समयअनुसार साँझ ६:२५ बजे प्रस्थान गरी भोलिपल्ट बिहान २ बजे सांघाई पुग्नेछ।
त्यस्तै, सेप्टेम्बर २९ देखि अक्टोबर २४ सम्म सांघाईबाट काठमाडौं फर्कने उडान बिहान ३ बजे प्रस्थान गरी काठमाडौंमा बिहान ७:१० बजे अवतरण गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले यात्रुको माग र उडानको ‘लोड फ्याक्टर’का आधारमा आगामी दिनमा उडान संख्या थप गर्न सकिने जनाएको छ।
नेपालको मुख्य पर्यटकीय सिजन सुरु हुँदै गर्दा सांघाई उडान पुनः सञ्चालन हुनुलाई पर्यटन तथा व्यवसायिक गतिविधिका लागि समेत महत्वपूर्ण मानिएको छ। कम्पनीले यस रुटले चीनबाट नेपाल आउने पर्यटकको संख्या बढाउन तथा होटल, ट्राभल, टुर, यातायात र आतिथ्य क्षेत्रको गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरेको छ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं–सांघाई रुटको नियमित उडानले नेपाल–चीनबीचको व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्क थप विस्तार गर्न सहयोग पुग्ने बताए।
उनका अनुसार कम्पनीले चीनका नयाँ गन्तव्यमा उडान विस्तार गर्दै आएको छ। काठमाडौं–सांघाई रुट पुनः सञ्चालनले दुई देशका नागरिकबीचको सम्पर्क थप मजबुत बनाउनुका साथै पर्यटन तथा व्यापार प्रवर्द्धनमा योगदान गर्ने कम्पनीको विश्वास छ।
काठमाडौं–सांघाई–काठमाडौं उडानका टिकट हिमालय एयरलाइन्सका टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनर, कम्पनीको वेबसाइट तथा मोबाइल एपमार्फत बुक गर्न सकिनेछ।

































