बाँके । दसैं नजिकिँदै जाँदा रोजगारीका लागि भारत गएका नेपालीहरू धमाधम स्वदेश फर्किन थालेका छन्। नेपालगञ्जस्थित जमुनाहा नाकामा पछिल्ला दिनमा घर फर्किने यात्रुको चाप उल्लेख्य रूपमा बढेको छ।
इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार पछिल्लो पाँच दिनमा मात्रै ५० हजारभन्दा बढी नेपाली भारतबाट नेपाल प्रवेश गरेका छन्। अहिले दैनिक १० हजारभन्दा बढी नेपाली यही नाकाबाट स्वदेश फर्किने गरेको प्रहरीले जनाएको छ।
भारतका नयाँदिल्ली, मुम्बई, हिमाञ्चल प्रदेशलगायत विभिन्न सहरमा रोजगारी तथा कामका लागि पुगेका नेपालीहरू दसैं मनाउन घर फर्किरहेका हुन्।
चाडपर्वको समयमा सीमावर्ती क्षेत्रमा यात्रु ठगी, लुटपाट तथा अलपत्र पर्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। बाँके प्रशासनले यात्रुको सहजता र सुरक्षाका लागि जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको जनाएको छ।
सहायता कक्षबाट भारतबाट फर्किने नेपालीलाई आवश्यक सूचना, समन्वय तथा सहयोग उपलब्ध गराइनेछ। सम्भावित जोखिम पहिचान गरी सोहीअनुसार सुरक्षा योजना कार्यान्वयन गरिएको प्रशासनले जनाएको छ।
भारतबाट फर्किने यात्रुको चापलाई मध्यनजर गर्दै नेपालगञ्ज र कोहलपुर बसपार्कमा समेत यात्रु सहायता कक्ष सञ्चालन गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणसँगै यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रहरीको भनाइ छ।

































