काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भूमिहीन तथा सुकुम्बासीको समस्या १,००० दिनभित्र समाधान गर्ने लक्ष्य लिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत भूमि समस्या समाधानमा सरकारको प्राथमिकता र आगामी कार्यदिशाबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री शाहका अनुसार हालसम्म विभिन्न जिल्लाका ५,७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण भइसकेको छ। भूमि समस्या समाधान समितिमा १३ लाख ११ हजार १९७ निवेदन प्रणालीमा प्रविष्ट भएको र ती निवेदनको अध्ययन तथा प्रमाणीकरण अघि बढाइएको उनले बताएका छन्।
शाहले निर्वाचनपूर्व गरिएको प्रतिबद्धताअनुसार भूमि समस्या समाधानको कार्यशैली परिवर्तन गरिएको दाबी गरेका छन्। उनका अनुसार राजनीतिक भागबन्डा र अनावश्यक संरचना थप्नुको सट्टा विषयविज्ञता, स्थानीय तहसँगको समन्वय र स्पष्ट जिम्मेवारीका आधारमा काम अघि बढाइएको छ।
सार्वजनिक तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका भूमिहीनलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया पनि अघि बढाइएको उनले बताएका छन्। झुटो विवरण दिएर आफूलाई भूमिहीन देखाउनेहरूको अभिलेख भिडान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको शाहको भनाइ छ।
प्रधानमन्त्रीले भूमि सम्बन्धी ऐन, वन ऐनलगायत कानुनमा आवश्यक सुधार गरी प्रक्रियागत तथा संरचनागत अवरोध हटाउने तयारी भइरहेको बताएका छन्। जिल्ला–जिल्लामा समस्या समाधान गर्दै क्रमशः ‘सुकुम्बासी समस्यामुक्त जिल्ला’ घोषणा गर्ने दिशामा सरकार अघि बढेको उनको दाबी छ।































