काठमाडौं । रसुवामा बुधबार बिहान आएको बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीबाट हालसम्म भएको क्षतिबारे सम्बन्धित निकायले प्रधानमन्त्री शाहलाई जानकारी गराएका छन्।
बैठकमा बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। प्रधानमन्त्री शाहले विपद्पछिको अवस्थालाई ध्यानमा राख्दै आगामी कदमका लागि सम्बन्धित सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्। उनले विपद्को यस कठिन समयमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यमा सक्रियतापूर्वक खटिनसमेत अनुरोध गरेका छन्।
रसुवामा आएको बाढीबाट भएको क्षतिको थप विवरण संकलन तथा प्रभावित क्षेत्रमा आवश्यक राहत र उद्धारका लागि सरकारी संयन्त्र परिचालन भइरहेको जनाइएको छ।


































