काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि अझै १५ हजार ३३२ जना व्यक्ति सम्पर्कविहीन रहेको सरकारी तथ्यांकले देखाएको छ।
उद्धार तथा राहत कार्यलाई सहज बनाउन सरकारले सञ्चालनमा ल्याएको उद्धार अनुरोध पोर्टलमा अद्यावधिक गरिएको विवरणअनुसार बाढीपछि ठूलो संख्यामा मानिस अझै बेपत्ता छन्।
सम्पर्कविहीनमध्ये १८ वर्षभन्दा कम उमेरका ६७६ जना बालबालिका रहेका छन्। यस्तै, ६० वर्षभन्दा माथिका ४०९ जना ज्येष्ठ नागरिक पनि हालसम्म सम्पर्कमा आउन सकेका छैनन्।
सरकारी तथ्यांकअनुसार हालसम्म २५ हजार ७ जना व्यक्ति फेला परिसकेका छन्। तर ६९९ जना अझै आफ्ना परिवार तथा आफन्तको सम्पर्कमा पुग्न नसकेको विवरणमा उल्लेख छ।
बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजी, उद्धार र परिवारसँग पुनर्मिलन गराउने कार्यलाई तीव्रता दिइएको सरकारले जनाएको छ।



































