काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका हेलिकप्टरलाई इन्धन भर्न सहज बनाउन नेपाल आयल निगमले नुवाकोटमा हवाई इन्धन पठाएको छ।
सिनामंगलस्थित हवाई इन्धन डिपोबाट १६ हजार लिटर क्षमताको रिफ्युलर गाडी नुवाकोटतर्फ पठाइएको हो। प्रभावित क्षेत्रमा उद्धारका लागि परिचालित नेपाली सेना तथा निजी कम्पनीका हेलिकप्टरलाई नुवाकोटमै इन्धन भर्ने सुविधा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको निगमले जनाएको छ।
हेलिकप्टरलाई इन्धनकै लागि काठमाडौं फर्किनुपर्ने अवस्था अन्त्य गरी उद्धार कार्यलाई थप प्रभावकारी र छिटो बनाउने लक्ष्यका साथ रिफ्युलर पठाइएको हो।
हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदीप यादवका अनुसार सामान्य अवस्थामा विमानस्थल परिसरभित्र मात्रै प्रयोग हुने रिफ्युलर गाडी आपतकालीन परिस्थितिलाई ध्यानमा राख्दै पहिलोपटक विमानस्थलबाहिर पठाइएको हो।
नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनासँग समन्वय गरी रिफ्युलर पठाइएको यादवले बताए। उनका अनुसार नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकसम्म गाडी पुग्न नसके धादिङको गजुरीस्थित सेनाको ब्यारेकमा राखेर हेलिकप्टरमा इन्धन भर्ने व्यवस्था गरिनेछ।
विशेष परिस्थितिलाई ध्यानमा राख्दै नेपाली सेनाका दुई जना प्रतिनिधि र नेपाल आयल निगमका तीन जना प्रतिनिधिको सुरक्षा तथा रोहबरमा रिफ्युलर गाडी पठाइएको निगमले जनाएको छ।
नुवाकोटमै हवाई इन्धन उपलब्ध भएपछि बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धारमा खटिएका हेलिकप्टरले कम समयमै पुनः उडान भर्न सक्नेछन्। यसबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यलाई थप तीव्र बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


































