काठमाडौं । भक्तपुरमा बैंकको एटीएम मेसिन फुटाउने एक जना युवक पक्राउ परेका छन् । भक्तपुरको कमलविनायकस्थित भत्केको पाटीमा रहेको नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका वडा नं. २ बस्ने २४ वर्षीय पूर्णबहादुर खासु छन् ।
उनलाई आज बिहान करिब पौने ३ बजेतिर प्रहरी वृत्त जगातीको टोलीले पक्राउ गरेको हो ।
उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा उनको साथबाट १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सो समेत बरामद गरिएकाे छ ।

































