हेटौंडा । हेटौंडामा डाक्टरलाई कुटपिट गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्ने दुई जना मृतकको श्रीमती र छोरी रहेको प्रहरीले जनाएको छ।
त्यस्तै डाक्टरलाई कुटपिट गर्ने अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। हेटौँडा–१ स्थित सन्चो हस्पिटल प्रालिका चिकित्सकहरूलाई एक समूहले कुटपिट गरेको थियो।
केही समयअघि चितवनमा मृत्यु भएका एक बिरामीका आफन्तहरूले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरमाथि कुटपिट गरेका हुन्। गत साउन २५ मा डेंगुबाट मृत्य भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका हुन्।
सन्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौंडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डाक्टर प्रशान्त बिडारी र सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापामाथि केही युवाहरुले हातपात गरेका हुन्।
प्रधानको चितवनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा २५ साउनमा मृत्यु भएको थियो। त्यसअघि प्रधानलाई उपचारका लागि सन्चो अस्पतालमा भर्ना गरिएको थियो। एक महिनाअघि डेंगीका कारण मृत्यु भएका प्रधानको उपचारमा चिकित्सकले लापरबाही गरेको आरोप थियो।

































