काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीतिको प्रारम्भिक तयारी सुरु गरेको छ। केन्द्रीय बैंकले नीति निर्माणलाई प्रभावकारी र सन्तुलित बनाउन सरोकारवालाहरूबाट सुझाव संकलन थालेको हो।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार हरेक वर्ष मौद्रिक नीति तर्जुमा गर्ने प्रक्रिया अघि बढाइँदै आएको छ। सोही आधारमा आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै विज्ञ, सम्बन्धित निकाय तथा सर्वसाधारणलाई सुझाव पठाउन अनुरोध गरेको छ।
राष्ट्र बैंकले सुझाव पठाउने अन्तिम मिति असार ५ गते तोकेको छ। बजेटले तय गरेका आर्थिक लक्ष्यलाई समर्थन गर्ने गरी मौद्रिक नीति ल्याउने तयारी भइरहेको बैंकले जनाएको छ।
सामान्यतः साउनको पहिलो वा दोस्रो साताभित्र मौद्रिक नीति सार्वजनिक गरिने भएकाले यस पटक पनि समयमै नीति ल्याउन प्रारम्भिक तयारीलाई तीव्र बनाइएको राष्ट्र बैंकले जनाएको छ।


































