काठमाडौँ । मंगलबार बेलुकाबाट बालेन समर्थकले प्रधानमन्त्रीलाई फेसबुकमा ‘अनफलो’ गर्न सुरु गरेकोमा आज बुधवार अपराह्नसम्म समेत त्यो क्रम रोकिने सुरसार देखिएको छैन ।
आइतबार साँझ मेयर बालेन्द्र साहले नेकपा एमाले (लुम्बिनी) प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम शोषण गरेको तर कारबाही नगरेको स्ट्याटस राखेपछि बालेन र एमाले नेता कार्यकर्ताबिच फेसबुक वार सुरु भएको थियो । बालेनको उक्त स्ट्याटस मंगलबार फेसबुक पेजबाट रिमोभ भएको थियो ।
त्यसपछि रिसाएका मेयर बालेनले आफ्नो स्ट्याटस हटाइएको दाबीसहितको मंगलबार अर्को पोस्ट गरेका थिए ।
ओलीको फेसबुकमा करिब ६ लाख ६३ हजार फलोअर रहेकोमा बुधवार दिउँसो घटेर ५ लाख ९२ हजारमा झरेका छन् ।यसलाई धेरैले बालेन र एमाले नेता कार्यकर्ताबिचको फेसबुक वार भन्दै मजाक समेत उदाएका छन् । बालेन समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘फेसबुक’ पेजलाई लगातार ‘अनफलो’ गरिरहेका छन् ।





































