काठमाडौं। नेपाल बिमा प्राधिकरणले भोटेकोसी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित बीमित र बीमितका हकवालालाई बिमा रकम भुक्तानी सहज बनाउन जीवन तथा लघुजीवन बिमा कम्पनीलाई आठबुँदे निर्देशन दिएको छ।
ल्हेन्दे खोला, भोटेकोसी, त्रिशूली तथा नारायणी नदी प्रणालीमा आएको भीषण बाढीबाट प्रभावित बीमितलाई बीमा तथा पुनर्बीमा सम्बन्धी रकम भुक्तानीमा सहजता ल्याउने उद्देश्यले प्राधिकरणले यस्तो व्यवस्था गरेको हो।
प्राधिकरणले जीवन तथा लघुजीवन बीमकलाई जारी गरेको निर्देशनमा कागजात नष्ट भएको, बिमालेख उपलब्ध नभएको तथा बीमित बेपत्ता भएको अवस्थासमेतलाई ध्यानमा राखेर प्रक्रिया सरल बनाइएको छ।
प्राधिकरणको आठबुँदेमा दाबी निवेदनमा आवश्यक विवरण मात्र खुलाए पुग्ने, नाता तथा परिचय खुल्ने कागजातलाई प्राथमिकता, मृत्यु वा बेपत्ता भएको प्रमाणका लागि वैकल्पिक व्यवस्था, सक्कल बिमालेख नभए पनि दाबी रोक्न नपाइने प्रावधान समेटिएको छ।
यस्तै, सक्कल बिमालेख उपलब्ध हुन नसकेको अवस्थामा कम्पनीको अभिलेखमा रहेको बिमालेखको प्रतिलिपिलाई आधार मानी दाबी प्रक्रिया अघि बढाउन सकिने, बिमालेखको प्रतिलिपि निःशुल्क उपलब्ध गराउनुपर्ने, कम्पनीको अभिलेखसमेत नष्ट भए सहयोग गर्नुपर्ने, प्रिमियम तथा बीमा कर्जाको किस्ता तिर्न ६ महिनासम्म थप समय उपलब्ध गराउनुपर्ने र बेपत्ता बीमितको हकमा पनि दाबी भुक्तानी गर्न सकिने बुँदासहितका प्राधिकरणले निर्देशन दिएको हो।
प्राधिकरणले विपद्का कारण बीमित तथा उनीहरूका परिवारले भोग्नुपरेको कागजात अभाव र आर्थिक कठिनाइलाई ध्यानमा राख्दै दाबी भुक्तानी प्रक्रिया सरल बनाउन यस्तो व्यवस्था गरेको हो।

































