खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले वडा नं ५ चिसापानीमा निर्माणाधीन १५ श्ययाको अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको भन्दै संरचना भत्काउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।
गाउँ कार्यपालिकाको आजको बैठकले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको अनुगमनका क्रममा पाइएको भन्दै निर्माणाधीन संरचना भत्काएर फेरि काम गर्न निर्देशन दिएको हो ।
निर्माणाधीन अस्पताल भवनका लागि जग सम्याएर पिल्लर ठड्याउने क्रममा गुणस्तरहीन काम भएको स्थानीयले गुनासो गरेपछि अनुगमन गरिएको र गुणस्तरहीन काम भएको निष्कर्षसहित संरचना भत्काउन निर्देशन दिइएको गाउँपालिका प्रमुख अरुणादेवी राईले जानकारी दिए ।
“करिब दुई वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने अस्पताल भवनको हालै पिल्लर ठड्याउने काम हुँदै थियो ।
निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन विसं २०७९ असार २८ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी विसं २०७८ असार २५ गते ड्रागन–रियर जेभीले ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले अस्पताल भवनको काम सिद्धगढी निर्माण कम्पनीलाई पेटी ठेक्कामा दिएको जनाएको छ । अस्पताल भवन निर्माणका लागि कूल रु २० करोड ७१ हजार पाँच सय ९० मा सम्झौता भएको थियो । रासस
































