काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले विद्युत प्राधिकरणले काटेको उद्योगीहरुको बिजुली लाइन पुनः जोडेर समस्याको समाधान गर्न माग गरेको छ ।
डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे सोमबार पत्रकार सम्मेलन गर्दै सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले ट्रंकलाइनको लागि प्रिमियम दर तोकिएको भन्दा पहिलाको बिलिङ गर्दा समस्या आएको बताए।
अहिले थप बिलको मात्र विवाद भएको भन्दै उनले विवाद समाधान गर्नुपर्नेमा नेपाल विद्युत् प्राधिकरणले लाइन काट्नु उचित नभएको प्रतिक्रिया दिए ।
कार्यक्रममा उद्योगी विष्णुप्रसाद न्यौपानेले उद्योगीहरुले प्रयोग गरेको प्रमाण (टीओडी मिटर)बिना पैसा मागेर प्राधिकरणले अत्याचार गरेको बताएका छन् ।
‘प्राधिकरणले टीओडी मिटर नदिने अनि लोडसेडिङमुक्त भएपछि कसरी बढी शुल्क लाग्छ ?’ नेपाल उद्योग परिसंघले सोमबार आयोजना गरेको डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी शुल्क सम्बन्धी पत्रकार सम्मेलनमा व्यावसायिक घराना सौरभ समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक न्यौपानेले प्रश्न गरे, ‘उनले भने टीओडी मिटरबिना हामीले के आधारमा पैसा तिर्ने ?’
त्यस्तै नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले बिनाप्रमाण पैसा मागेर सरकारले बिजुली काटेर उद्योग बन्द गराएको बताएका छन् ।
‘नेपाल विद्युत् प्राधिकरणले साढे ३ वर्षपछि प्रयोग नै नगरेको बिजुलीको पैसा माग्नु र आज आएर बिजुली काटेर उद्योग बन्द गर्नु खेदजनक छ,’ उनले भने ।
उनले राज्यले नै विनास गर्न लागेको बताए । ‘यसले हामीलाई मर्माहत बनाएको छ,’ उनले भने, ‘भर्खर निर्यात गर्न थालेका उद्योग पनि बन्द भएका छन् ।’
उद्योगीले प्राधिकरणले बिल पठाएको ७ दिनभित्रै सधैं छुटसहित पैसा तिर्ने गरेको उनले बताए । ‘अब कुनै थप शुल्क तिर्नुपर्ने छैन, हामीले तिर्नुपर्ने शुल्क के हो र ?’ उनले प्रश्न गरे, ‘के को बिल हो ? प्रस्ट प्राधिकरणले प्रस्ट पारोस्, हामी प्रमाण पुगेको शुल्क बुझाउन तयार छौं ।’
त्यस्तै कार्यक्रममा चिनी उत्पादक संघका अध्यक्ष जगदीश अग्रवालले सरकारको अपरिपक्व निर्णयले गर्दा बजार र उद्योग क्षेत्रलाई अफ्ठ्यारो पर्ने बताए । उनले अपरिपक्व निर्णय र अनावश्यक झैझमेला उद्योगीलाई दिनको लागि मात्रै लाइन काटिएको बताए । कानूनबमोजिम उद्योगीलाई दिनुपर्ने फर्जी बिल बाहेक अरु कुनैपनि बिल भए सरकारलाई आफूहरु तिर्ने बताउँदै उनले सबै उद्योगले बिजुलीको पैसा तिरेको भन्दै फर्जी बिलको पैसा तिर्न नसक्ने बताए ।





































