काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएकाबारे सरकारले अनुगमन गर्ने बताएका छन्।
आज सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीले सबै स्थानीय तहमा यस विषयमा अनुगमन गरिने जानकारी दिएका छन् । ओलीले फेसबुकमा लेखेका छन्, ‘सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरूको लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्नेको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको छ । यसका लागि ६० करोड अनुदान दिएको छ ।’
त्यस्तै प्रधानमन्त्रीले ‘दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचीकृत जाति र सीमान्तकृत वर्गका गैर आवासीय विद्यार्थीका लागि प्रतिविद्यार्थी वार्षिक एक हजारदेखि तीन हजार पाँच सयसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको बताएका छन् ।
‘गैर आवासीय छात्रवृत्तिअन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । यसका लागि ५० करोड रकम विनियोजन भएको छ’, ‘प्रधानमन्त्री ओलीले भनेका छन् ‘शैक्षिक दृष्टिले पछि परेका समुदाय, अतिविकट हिमाली जिल्लाका विद्यार्थीलगायत सात वटा लक्षित समूहका ११ हजार चार सय विद्यार्थीका लागि मासिक पाँच हजारका दरले आवासीय छात्रवृत्ति प्रदान गरिएको समेत बताएका छन्।



































