काठमाडौं । सरकारी कर्मचारीहरूको आचरण, जिम्मेवारी र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सरकारले नयाँ आचारसंहिता लागू गरेको छ, जसले कार्यशैलीदेखि सामाजिक सञ्जाल प्रयोगसम्मका विषयमा स्पष्ट दिशा दिएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरेको ‘कर्मचारी आचारसंहिता, २०८३’ मन्त्रालयअन्तर्गतका सबै निकायमा लागू गरिएको छ। यसले कर्मचारीलाई अनुशासित, निष्पक्ष र मर्यादित ढंगले काम गर्न निर्देशन दिएको छ।
नयाँ व्यवस्थाअनुसार कार्यालय समयमा वा सरकारी पोसाकमा खिचिएका फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न रोक लगाइएको छ।
आचारसंहिताले सेवाग्राहीसँगको व्यवहारमा पनि कडाइ गरेको छ। कर्मचारीले सबैसँग समान, शिष्ट र निष्पक्ष व्यवहार गर्नुपर्नेछ भने कुनै पनि प्रकारको भेदभाव गर्न नपाइने व्यवस्था गरिएको छ।
त्यस्तै, पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिन, सेवाग्राहीसँग अनावश्यक सम्पर्क राख्न वा प्रतिनिधिको रूपमा काम गर्न नपाइने स्पष्ट गरिएको छ।
कार्यालय समयको पूर्ण पालना, पोसाक र परिचयपत्रको अनिवार्य प्रयोग, तथा सार्वजनिक स्थलमा अनुचित गतिविधिमा संलग्न हुन नपाइने जस्ता प्रावधान पनि समावेश छन्।
मन्त्रालयले आचारसंहिताको पालना भए–नभएको नियमित अनुगमन गर्ने र उल्लंघन गर्ने कर्मचारीमाथि कानुनअनुसार कारबाही गर्ने जनाएको छ।





































