काठमाडौं । देशका विभिन्न क्षेत्रमा पटक–पटक बत्ती जाने समस्यालाई अन्त्य गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विशेष अभियान सुरु गरेको छ। मन्त्री बिराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यो समस्या तथ्याङ्कले देखाएभन्दा गम्भीर रहेको र नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको बताएका छन्।
पश्चिम नेपालका विभिन्न क्षेत्रको स्थलगत अनुगमनपछि समस्या अपेक्षाभन्दा व्यापक देखिएको भन्दै मन्त्रालयले सक्रिय निगरानी र तत्काल समाधानको नीति अघि सारेको हो।
अभियान सुरु भएको पहिलो दिनमै हटलाइन नम्बर ११५० र ११५१ मा २४ वटा गुनासा दर्ता भएका थिए।
मन्त्रालयका अनुसार विद्युत् सेवामा आउने समस्या समाधान गर्न २४ घण्टा हटलाइन सेवा सञ्चालनमा राखिएको छ। आवश्यक परे प्रदेशस्तरका जिम्मेवार अधिकारीहरूसँग पनि सिधा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
सरकारले विद्युत् सेवामा ढिलासुस्ती वा लापरबाही कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै जनताबाट आएका प्रत्येक गुनासाको तत्काल सुनुवाइ र समाधानलाई प्राथमिकता दिएको जनाएको छ। “बत्ती जानु सामान्य होइन, यसलाई सामान्य बन्न दिँदैनौं,” मन्त्री श्रेष्ठको भनाइ छ।




































