काठमाडौं । प्रविधि कम्पनी मेटाले नयाँ एआई इमेज निर्माण उपकरण ‘म्युज इमेज’ सार्वजनिक गरेको छ, जसले प्रयोगकर्तालाई कृत्रिम बुद्धिमत्तामार्फत विभिन्न प्रकारका तस्बिर सिर्जना गर्न सहज बनाउने लक्ष्य राखेको छ।
मेटाको सुपरइन्टेलिजेन्स ल्याबद्वारा विकास गरिएको यो टुल अहिले मेटा एआई एपसँगै इन्स्टाग्राम स्टोरीज र ह्वाट्सएपमा पनि प्रयोग गर्न सकिने बनाइएको छ। प्रयोगकर्ताले यसमार्फत आफ्ना विचारअनुसार नयाँ तस्बिर बनाउन, पुराना तस्बिर परिमार्जन गर्न वा फरक शैलीमा रूपान्तरण गर्न सक्छन्।
नयाँ प्रयोगकर्तालाई सहयोग पुर्याउन मेटाले पूर्वनिर्धारित प्रम्प्टहरू पनि उपलब्ध गराएको छ, जसले सजिलै सिर्जनात्मक काम सुरु गर्न मद्दत गर्छ।
तर, यो प्रविधिको गोपनीयता पक्षलाई लिएर केही चिन्ता पनि व्यक्त गरिएको छ। सार्वजनिक प्रोफाइल भएका व्यक्तिको तस्बिर प्रयोग गरेर नयाँ एआई सामग्री बनाउन सकिने व्यवस्थाले दुरुपयोगको सम्भावना रहेको आलोचना गरिएको छ।
यद्यपि, मेटाले प्रयोगकर्तालाई आफ्ना तस्बिरको प्रयोग नियन्त्रण गर्ने विकल्प उपलब्ध रहेको जनाएको छ। प्रयोगकर्ताले सेटिङमार्फत आफ्नो सामग्री एआई प्रयोगबाट रोक्न सक्ने सुविधा पनि राखिएको छ।
कम्पनीका अनुसार ‘म्युज इमेज’ हाल सीमित क्षेत्रहरूमा उपलब्ध भए पनि भविष्यमा फेसबुकसहित अन्य प्लेटफर्ममा विस्तार गरिनेछ। साथै, एआई भिडियो निर्माण गर्ने ‘म्युज भिडियो’ ल्याउने तयारी पनि भइरहेको छ।






































