काठमाडौँ। हिन्दु नेपालीको दोस्रो ठुलो चार्डको रूपमा मनाइने तिहार आज सकिएको छ । तिहारमा सेललगायत तारेका रोटी धेरै खाने प्रचलन छ। तिहार सकिए पनि सेल रोटी भने अझै केही दिनसम्म बाकी रहन्छ । धेरेलाई उक्त बासी सेल रोटी खान बडो मज्जा लाग्ने गर्दछ ।
चिकित्सकले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र यस्ता परिकार सेवन गर्न सुझाव दिएका छन् । चार्डपर्वको समयमा वा सकिएपछि अत्यधिक प्रयोग हुने यस्ता परिकार खाँदै नखानुभन्दा पनि सन्तुलित मात्रामा खान चिकित्सकहरूको सुझाव छ । कतिपय बिरामीले भने खानै नहुने पनि चिकित्सक सुल्झाउँछन् ।
तेल वा घ्यूमा तारेर बनाएका रोटी ग्यास्ट्रिक, अल्सर र मुखमा अमिलो पानी आउने समस्या भएका बिरामीका लागि हानिकारक हुने चिकित्सकहरूको भनाई छ। यस्ता समस्या भएका बिरामीले रोटी नखाएकै राम्रो हुने उनीहरूको भनाई छ।
सामान्य मानिसले पनि चिल्लो धेरै नखान र फलफूल, सागपातलगायत स्वास्थ्यकर खानामा जोड दिनुपर्नेमा स्वास्थ्य विज्ञको भनाई छ । लामो समयसम्म राखेको सेल रोटी स्वादमा मिठो भए पनि स्वास्थ्यका लागि भने हानिकारक हुने उनीहरूको भनाई छ । यति बेला डेंगु, पखालालगायत समस्या रहेकाले उच्च सावधानी अपनाएर पर्व मनाउन र बजारमा मासु किन्दासमेत स्वास्थ्यकर ठाउँ र कम बोसो भएको मासु खान चिकित्सकहरूको आग्रह छ ।
कलेजोको समस्या भएका बिरामीले तारेका चिज खान स्वास्थ्यको हिसाबले राम्रो मानिँदैन। कलेजो रोग लागेर निको नहुने अवस्थामा पुगेका बिरामीले चिल्लोको सट्टामा धेरै प्रोटिन र कार्बोहाइड्रेट भएका खानामा ध्यान दिनुपर्ने डाक्टरहरू सुझाव दिन्छन्।
जण्डिस भएका बिरामीले सेलजस्ता तारेका रोटी खानु हानिकारक हुन्छ । ‘घ्यू, तेल बढी भएका रोटी मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोल भएका बिरामीले कमै खानुपर्छ । पित्त थैलीमा पत्थरी भएकाले यस्ता रोटी धेरै खाँदा दुखेर समस्या झन् बढ्न सक्छ । पाचन प्रणाली कमजोर भएकाले पनि रोटी कम खान सुझाउँदै पाटन अस्पतालका वरिष्ठ फिजिसियन डा.कालिदास अधिकारीले पचाउन गाह्रो हुनेले खाली पेटमा बढी चिल्लो खाँदा सामान्य मानिसलाई पनि असर गर्न सक्ने तर युवालाई भने खासै असर नगरेको बताएका छन् ।


































