National life

‘मोरल बुस्ट भयो, अब बजार सुधार हुन्छ’ : सेयर लगानीकर्ता रौनियार

२१ बुँदे कार्ययोजनाले सेयर बजारमा जगायो उत्साह, ‘अब सुधार भएरै जान्छ’ : रौनियार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ दिन अगाडि|३० भदौ २०८३, मङ्गलबार
6.4kShares
‘मोरल बुस्ट भयो, अब बजार सुधार हुन्छ’ : सेयर लगानीकर्ता रौनियार
ncell

काठमाडौँ । युवा नेतृत्वको सरकार गठन भएयता निरन्तर दबाबमा रहेको नेपाली सेयर बजारमा अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ ले नयाँ आशा जगाएको छ। लामो समयदेखि बजार सुधारका लागि आश्वासन मात्रै पाएको गुनासो गरिरहेका लगानीकर्ताले कार्ययोजनालाई सकारात्मक रूपमा लिएका छन्।

बजारमा निरन्तरको गिरावटका कारण लगानीकर्ताले ठूलो रकम गुमाइसकेको अवस्थामा सरकारले पुँजी बजार सुधारका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो। कार्ययोजनामा तत्काल गर्नुपर्ने सुधारदेखि दीर्घकालीन नीतिगत तथा संरचनागत सुधारसम्मका विषय समेटिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारको कार्ययोजनापछि बजारमा उत्साह देखिन थालेको बताउँदै सेयर बजारका लगानीकर्ता छोटेलाल रौनियारले अब कार्ययोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्। आर्थिक भ्वाइससँगको कुराकानीमा उनले कार्ययोजनामा समेटिएका विषय तत्काल कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए।

तत्काल सुधारमा क्यापिटल गेन ट्याक्स र सेयर बिक्रीको व्यवस्था

रौनियारका अनुसार २१ बुँदे कार्ययोजनामा दीर्घकालीन र तत्काल सुधार गर्नुपर्ने दुवै प्रकारका विषय समेटिएका छन्। तत्काल सम्बोधन गर्नुपर्ने लगानीकर्ताका मुख्य मागमध्ये क्यापिटल गेन ट्याक्स घटाउने र सेयर खरिद गरेपछि तत्काल बिक्री गर्न पाउने व्यवस्था महत्वपूर्ण रहेको उनको भनाइ छ।

उनले सेयर खरिद गरेको निश्चित समयपछि मात्रै बिक्री गर्न पाउने व्यवस्थाले बजारमा समस्या सिर्जना गरेको भन्दै यसलाई सहज बनाउनुपर्ने बताए। राष्ट्र बैंकले यस विषयमा ४५ दिनको समय राखेको उल्लेख गर्दै उनले बजारको आवश्यकता र लगानीकर्ताको हितअनुसार व्यवस्था सुधार गर्नुपर्ने धारणा राखे।

रौनियारले भने, ‘२१ बुँदा छिटो लागू गर्नुपर्छ। किनभने बजारमा अहिलेसम्म आश्वासन दिइरहेको छ। तत्काल लागू हुनुपर्ने कुराहरू धेरै कम छन्।’

एनआरएनलाई सेयर कारोबारमा सहज प्रवेश गराउनुपर्ने

उनले गैरआवासीय नेपाली (एनआरएन)लाई नेपालको पुँजी बजारमा सहज रूपमा कारोबार गर्न दिने व्यवस्था पनि तत्काल अघि बढाउनुपर्ने बताए।

उनका अनुसार एनआरएनमार्फत विदेशी मुद्रा नेपाल भित्र्याउने र लगानी गर्ने वातावरण बनाउन सकिए पुँजी बजारमा थप स्रोत परिचालन हुन सक्छ। विदेशबाट विदेशी मुद्रा ल्याउने लगानीकर्ताले भविष्यमा आफ्नो लगानी तथा प्रतिफल सम्बन्धित व्यवस्थाअनुसार विदेश लैजान सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

‘हामी अन्तर्राष्ट्रिय लेभलमा जाने हो भने यी कुराहरू लागू गर्नुपर्छ,’ उनले भने।

यो पनि पढ्नुस्ः

रौनियारले नेपालको पुँजी बजारको प्राविधिक पूर्वाधारलाई समेत अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गर्नुपर्ने बताएका छन्।

विशेषगरी सीडीएससी (CDSC) को प्रणालीको क्षमता अभिवृद्धि आवश्यक रहेको उनको भनाइ छ। अहिले प्रणाली अपडेट गरिएको भए पनि पुरानो भारतीय प्रणालीमा आधारित रहेकाले नेपालको बढ्दो बजारको आवश्यकतालाई सम्बोधन गर्न अत्याधुनिक प्रणाली आवश्यक रहेको उनले बताए।

उनले नेपालको पुँजी बजारको पुँजीकरण खर्बौँ रुपैयाँ पुगेको अवस्थामा प्रणाली स्तरोन्नतिका लागि पर्याप्त लगानी गर्नुपर्ने धारणा राखे।

‘खर्बौंको पुँजीकरणमा एक अर्ब खर्च गरेर नयाँ सिस्टम अपडेट गर्दा के फरक पर्थ्यो र ? इन्टरनेसनल स्ट्यान्डर्डको गर्नुपर्‍यो,’ रौनियारले भने।

पहिलो कारोबार दिनमै ८ अर्बभन्दा बढीको कारोबार

सरकारले कार्ययोजना सार्वजनिक गरेपछिको पहिलो कारोबार दिनमै बजारमा सकारात्मक गतिविधि देखिएको रौनियारको भनाइ छ।

उनका अनुसार मंगलबार सेयर बजारमा ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुनु सकारात्मक संकेत हो। कार्ययोजना सार्वजनिक भएपछि लगानीकर्ताको मनोबलमा सुधार आएको उनले बताए।

यद्यपि, कार्ययोजनापछि आफूहरूले अपेक्षा गरेजस्तो बजार ८० अंकभन्दा बढीले बढ्न नसकेको उनको भनाइ छ। बजार लामो समयदेखि कमजोर मनोविज्ञानबाट गुज्रिरहेका कारण एकैदिन ठूलो उछाल नआउनुलाई स्वाभाविक रूपमा लिनुपर्ने उनले बताए।

‘सेयर बजार सुधारका लागि सरकारले योजना जारी गरेपछि पहिलो कारोबार दिन मंगलबार कम्तीमा ८० अंकभन्दा बढीले बढ्ने अपेक्षा हामीले गरेका थियौँ,’ उनले भने, ‘तर अपेक्षाअनुसार बजार नबढ्नुमा लगानीकर्तालाई दोष दिनु हुँदैन।’

‘लगानीकर्ताको मोरल डाउन थियो, अब सुधार हुन्छ’

रौनियारका अनुसार लामो समयदेखि बजारमा रहेको नकारात्मक मनोविज्ञानका कारण लगानीकर्ताको आत्मविश्वास कमजोर भएको थियो। यस्तो अवस्थामा सरकारले सुधारको स्पष्ट कार्ययोजना ल्याएपछि लगानीकर्ताको मनोबलमा सुधार आएको उनले बताए।

‘किन मोरल डाउन भएको थियो, मास साइकोलोजी पनि एकदम वीक थियो। लगानीकर्ता पनि बुझ्छन्, अलिकति सम्हालेर काम गर्छन्। २१ बुँदाले मोरल बुस्ट भयो र अब करेक्सन भएर नै जान्छ,’ उनले भने।

उनले आगामी दिनमा बजारमा क्रमिक सुधार हुने अपेक्षा पनि व्यक्त गरे। कार्ययोजनाको प्रभावकारी कार्यान्वयनसँगै लगानीकर्ताको विश्वास फर्किने र बजारले सकारात्मक गति लिन सक्ने उनको आकलन छ।

कर प्रणाली सुधारलाई सकारात्मक रूपमा हेरिएको छ

रौनियारले कार्ययोजनामा समेटिएको करसम्बन्धी सुधारलाई पनि महत्वपूर्ण मानेका छन्।

उनका अनुसार कार्ययोजनामा क्यापिटल गेन ट्याक्सको दर घटाएर ३.७५ प्रतिशत र ५ प्रतिशत मा ल्याउने तथा नोक्सानीलाई नाफासँग समायोजन गरेर नेट गेनमा मात्र कर तिर्नुपर्ने व्यवस्था गर्ने विषय समेटिएको छ।

उनले यस्तो व्यवस्था कार्यान्वयनमा आए लगानीकर्तालाई प्रत्यक्ष राहत पुग्ने र बजारमा कारोबारको वातावरण थप सहज हुने बताए।

दीर्घकालीन सुधारका लागि महत्वपूर्ण आधार

रौनियारका अनुसार २१ बुँदे कार्ययोजना तत्काल बजारको मनोबल बढाउने दस्तावेज मात्र नभई दीर्घकालीन रूपमा पुँजी बजार विकास गर्ने आधारसमेत बन्न सक्छ।

तर कार्ययोजना सार्वजनिक गर्नु मात्रै पर्याप्त नहुने उनको भनाइ छ। सम्बन्धित निकायले स्पष्ट समयसीमा बनाएर बुँदागत रूपमा कार्यान्वयन गर्नुपर्ने उनले बताए।

उनले कार्ययोजना कार्यान्वयनका क्रममा लगानीकर्ताको हितलाई केन्द्रमा राख्न, वास्तविक बजार सहभागीको सुझाव समेट्न, नीतिगत अन्योल हटाउन तथा बजारमा स्थायित्व र विश्वास कायम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

रौनियारको भनाइमा, लामो समयदेखि आश्वासनमा सीमित रहेको पुँजी बजार सुधार अब व्यवहारमै देखिन आवश्यक छ। २१ बुँदे कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सके त्यसले लगानीकर्ताको मनोबल बढाउनुका साथै नेपालको पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र अन्तर्राष्ट्रियस्तरको बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

यो समाचार शेयर गर्नुहोस्
6.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?