काठमाडौँ । मनोजकुमार लाल कर्णले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिएका छन्। कम्पनीमा लामो समयदेखि देखिएको अभिकर्ता आन्दोलनले चुलिँदै गएपछि उनले आफ्नो पद त्याग गरेका हुन्।
कर्णले अभिकर्ताहरूसँग उत्पन्न विवाद समाधानका लागि प्रयास गरे पनि कम्पनीको बोर्ड र व्यवस्थापनबिच सहमति नजुटेपछि अन्ततः राजीनामा दिएको बताइएको छ। उनले आफूले पदमा रहँदा कम्पनीको व्यावसायिक विस्तार, सेवाको गुणस्तर सुधार र डिजिटल रूपान्तरणका लागि काम गरे पनि अभिकर्ताले उठाएका माग पूरा गर्न नसकिएको स्वीकार गरेका छन्।
हिमालयन लाइफका अभिकर्ताहरूले कमिसन संरचना पुनरावलोकन, बोनस नीतिमा सुधार, र अभिकर्ता कल्याण कोषको व्यवस्थापन पारदर्शी बनाउन माग गर्दै केही समयदेखि आन्दोलन गर्दै आएका थिए। अभिकर्ताहरूले काठमाडौँदेखि बाहिरी जिल्लासम्म धर्ना, विरोध प्रदर्शन र कार्य विरोध कार्यक्रमसमेत सञ्चालन गरेका थिए।
अभिकर्ता आन्दोलनका कारण कम्पनीको बिक्री र बजार विस्तारमा पनि असर परेको थियो। हाल सीईओको राजीनामापछि कम्पनीले नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गर्ने तयारी गरेको जनाएको छ। बोर्ड अफ डायरेक्टरले निकट भविष्यमा नयाँ सीईओको नियुक्ति गर्ने र अभिकर्ताहरूसँग संवादमार्फत समस्या समाधान गर्ने जनाएको छ।
यसअघि कर्णले विभिन्न बीमा कम्पनीहरूमा उच्च पदमा रहेर काम गरेका थिए र बीमा क्षेत्रमा अनुभवी व्यक्तिका रूपमा परिचय बनाएका कर्णले । पछिल्ला घटनाक्रमका कारण कार्यकाल नसकिँदै राजीनामा दिएका हुन् ।





































