काठमाडौँ । निजी क्षेत्रका केही व्यवसायीहरूले बीमा कम्पनीहरूबाट प्राप्त ५० प्रतिशत अग्रिम भुक्तानीमा आधारित पूर्ननिर्माणको काम सुरु गरेका छन्। मंगलबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रले आफ्नो सम्पत्ति पुनर्निर्माण कार्य सुरु गरिसकेको जनाएका छन् ।
अर्थमन्त्री खनालका अनुसार, व्यवसायीहरूले बीमा कम्पनीहरूबाट करिब २ अर्ब रुपैयाँ क्यास एड्भान्स भुक्तानी प्राप्त गरिसकेका छन्। यस अग्रिम भुक्तानीको माध्यमबाट कतिपय व्यवसायीहरूले आफ्नो व्यवसायिक काम सुरु गरिसकेको उनले बताए।
बैठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिका असर, सरकारको सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्ड, राजस्व चुहावट नियन्त्रण, वित्तीय संघीयताको कार्यान्वयन र व्यावसायिक वातावरण सिर्जना गर्नका लागि भएका पहलसम्बन्धमा छलफल भएको थियो।
अर्थमन्त्री खनालले यस बैठकमा व्यवसायीहरूको कामलाई सहज बनाउन वित्तीय प्रणालीमा आवश्यक नियम, सुविधा र कर्जा उपलब्धता सुनिश्चित गर्ने योजना रहेको जानकारी दिएका छन्।





































