काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७.७५ अंकले घट्दै २,६९८.२८ बिन्दुमा कायम भएको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स, प्लोट इन्डेक्स र सेन्सेटिभ प्लोट इन्डेक्स पनि ओरालो लागेका हुन् ।
बजार ओरालो लागे पनि केही कम्पनीका सेयरमा उच्च कारोबार देखिएको छ ।
आज कुल ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २९३ रुपैयाँ बराबरका २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर किनबेच भएका छन् ।
बजारमा आज १ सय १२ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ३३ कम्पनीको मूल्य घट्न पुग्यो । कुल ३ सय १९ वटा कम्पनीको शेयर किनबेच हुँदा एउटा कम्पनीको शेयर मूल्य भने यथावत् रह्यो ।
आजको कारोबारमा नाग्दी ग्रुप पावर लिमिटेड सर्वाधिक सक्रिय रह्यो । कम्पनीका १५ लाख ९० हजार २ सय ५ कित्ता शेयर किनबेच हुँदा कुल ५३ करोड ९९ लाख १८ हजार १ सय ७४ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कुल १३ उपसूचकमध्ये ६ उपसूचक सकारात्मक रहे भने ७ उपसूचक नकारात्मक देखिए । जलविद्युत र विकास बैंक समूहमा क्रमशः २७.३६ र २४.६६ अंकको वृद्धि हुँदै उल्लेखनीय सुधार देखिएको हो। यस्तै, म्युचुअल फन्ड, होटल तथा पर्यटन, लगानी, र निर्माण तथा प्रशोधन उपसूचक पनि हरियालीमा बन्द भएका छन्।
अर्कोतर्फ, वित्त, वाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स, व्यापार र अन्य उपसूचकमा गिरावट देखिएको छ। विशेषगरी व्यापार उपसूचकमा सबैभन्दा धेरै ७०.४४ अंकको गिरावट आउँदा यो समूहले आज सबैभन्दा कमजोर प्रदर्शन गरेको छ ।






























