काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकास्थित चन्द्रौटामा रहेको आधारभूत स्वास्थ्य सेवा अस्पतालमा आर्थिक अनियमितता भएको आरोपमा अस्पताल तथा बैंकसँग सम्बन्धित पाँच जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार आर्थिक वर्ष २०८१/०८२ को अवधिमा अस्पतालले सेवा शुल्क तथा फार्मेसीमार्फत उठाएको रकम बैंकमा जम्मा नगरी दुरुपयोग गरिएको भन्ने उजुरीपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। शिवराज नगरपालिकाले २०८३ वैशाख ४ गते नै आर्थिक कारोबारमा गडबडी भएको आशंका गर्दै छानबिनको माग गरेको थियो।
प्रारम्भिक अनुसन्धानले अस्पतालबाट संकलन गरिएको रकम नेपाल बैंक लिमिटेडको चन्द्रौटा शाखामा जम्मा गरिएको भनिए पनि वास्तविक रूपमा उक्त रकम खातामा नपुगेको देखाएको प्रहरीले जनाएको छ।
यस प्रकरणमा शिवराज नगरपालिका–५ का वडा अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद बेल्बासेले ठगी र आपराधिक विश्वासघातको आरोपमा जाहेरी दिएका थिए। सोही आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार नक्कली भौचर प्रयोग गरी योजनाबद्ध रूपमा रकम हिनामिना गरिएको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई, मेडिकल सुपरिटेन्डेन्ट डा. अमित पाण्डेय, नेपाल बैंक चन्द्रौटा शाखाका क्यासियर कमलप्रसाद भण्डारी, फार्मेसी सहायक रुक्सना खातुन र बैंक कर्मचारी विक्रम केसी रहेका छन्।
उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


































