काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा अपेक्षा अनुसार सुधार आउन नसके पनि निक्षेप संकलनमा तीव्र वृद्धि भएको छ। बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीबिच असन्तुलनले बजारमा तरलताको संकट बढ्दै गएको छ।
वाणिज्य बैंकहरू कर्जा लगानी भन्दा निक्षेप संकलनमा आक्रामक देखिएका छन्। पछिल्लो एक सातामा निक्षेप ४७ अर्ब रुपैयाँले वृद्धि गरेका छन् भने कर्जा लगानी १५ अर्ब रुपैयाँले मात्र बढाएका छन्।
बैंकहरूको निक्षेप असार पहिलो साताको ३९ खर्ब ९१ अर्ब रुपैयाँबाट बढेर तेस्रो सातामा ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ। सोही अवधिमा कर्जा लगानी ३६ खर्ब ५३ अर्ब रुपैयाँबाट बढेर ३६ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले जनाएको छ ।
समीक्षावधिमा बैंकहरूको पुँजी कर्जा निक्षेप अनुपात (CCD Ratio) ७८.२० प्रतिशत रहेको छ। मौद्रिक नीतिको सन्दर्भमा CCD अनुपात ९० प्रतिशत सीमाभित्र हुनुपर्ने प्रावधान छ।


































