काठमाडौँ । एशियाली विकास बैंक (एडिबी) ले पाँचवर्षे नयाँ राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक गरेको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच अर्थमन्त्री विष्णु पौडेल सहित अर्थ सचिव घनश्याम उपाध्याय, नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वा र विश्व बैंकका तर्फबाट मालदिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स मेनेजर प्रीति अरोराले एडिबीको राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९) सार्वजनिक गरेका हुन।
निजी क्षेत्रलाई प्राथमिकतामा राखेर एडिबीले नेपालमा पहिलो पटक विश्व बैंक समूहसँग संयुक्त रूपमा राष्ट्रिय साझेदारी फ्रेमवर्क तयार पारेको हो। यो सहकार्यमा आधारित विकास योजनामा महत्त्वपूर्ण कोसेढुंगा साबित हुने विश्वास एडिबीका राष्ट्रिय निर्देशक कोश्वाले लिएको जनाएका छन् ।
उनले भने अर्थ मन्त्रालयको नेतृत्व र विश्व बैंक समूहसँगको घनीभूत सहकार्यबाट यो सम्भव भएको उल्लेख गरेका छन्। नीतिगत सुधार, संस्थागत सुदृढीकरण तथा पूर्वाधार विकासमा आबद्ध गरिएका लगानी परियोजना, नीतिगत आधारमा प्रदान गरिने ऋण तथा क्षेत्रगत विकास कार्यक्रमको संयोजनमार्फत राष्ट्रिय साझेदारी रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालासँग मिलेर एडिबीले काम गर्ने समेत निर्देशक कोश्वाले जानकारी दिए।
राष्ट्रिय साझेदारी रणनीतिले डिजिटल रूपान्तरण, सुशासन र संघीयताका लागि क्षमता विकासका साथै महिला एवं वञ्चितिकरणमा परेका साथै जोखिममा रहेका समूहहरूको सशक्तीकरण जस्ता अन्तर विषयलाई प्राथमिकता दिएको बताउँदै उनले यसबाट समावेशी र समतामूलक विकास परिणाम सुनिश्चित रहेको उल्लेख गरेका छन्। साझेदारी रणनीतिको पहिलो रणनीतिक प्राथमिकतामा निजी क्षेत्र नेतृत्वमा आधारित रोजगारमुखी , हरित आर्थिक रूपान्तरणलाई प्रवर्द्धन गर्नु रहेको कोश्वाको भनाई छ।
कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री विष्णु पौडेलले एडिबीको रणनीतिक योजनाले समावेशी आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र खासगरी युवाहरुका लागि गुणस्तरीय रोजगारी सिर्जनामा सहयोग पुग्ने धारणा राखेका छन्। आर्थिक रूपान्तरणको सरकारको यात्रामा एडिबीको अटल सहयोगप्रति अर्थमन्त्री पौडेलले कृतज्ञता व्यक्त गरेका छन्।
एडिबीको रणनीतिक योजनाले निजी क्षेत्रको विकास, पर्यटन उद्योगको विस्तारसँगै कृषिको आधुनिकीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास अर्थमन्त्री पौडेलको छ। यस योजनाको कार्यान्वयनसँगै देशका युवाहरूको लागि गुणस्तरीय रोजगारीको अवसर सिर्जना गर्ने अपेक्षा पनि अर्थमन्त्री पौडेलले गरेका छन् । एडिबीको नयाँ राष्ट्रिय साझेदारी रणनीतिको सार्वजनिकीकरणसँगै सरकारको ६ दशक लामो साझेदारीमा नयाँ अध्यायको सुरुवात भएको पौडेलले उल्लेख गरे।
एडिबीका प्रमुख अर्थशास्त्री इयान ह्यानसन र कार्यक्रम अधिकृत श्रीजना राजभण्डारीले राष्ट्रिय साझेदारी रणनीतिका मुख्य रणनीतिक प्राथमिकता र प्रमुख परियोजनाहरू प्रस्तुत गरेका थिए ।


































