काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको कात्तिक महिनामा उल्लेखनीय प्रदर्शन गर्दै तीन अर्ब १९ करोड १८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरणअनुसार देशभर सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले एक महिनामै यो कारोबार पूरा गरेका हुन् ।
गत आर्थिक वर्षको कात्तिकमा दुई अर्ब ७० करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएकोमा यस वर्ष सो रकम १७.८१ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा सबैभन्दा बढी व्यवसाय गर्न सफल कम्पनीको सूचीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। कम्पनीले कात्तिक महिनामा ४० करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै आफ्नो कारोबार गत वर्षको तुलनामा ७७.११ प्रतिशतले विस्तार गरेको छ । गत आवको सोही अवधिमा कम्पनिले २३ करोड १० लाख रुपैयाँ मात्र आर्जन गरेको थियो ।
साथै, दोस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले ३५ करोड ४० लाख रुपैयाँ बीमा शुल्क सहित २१.९७ प्रतिशत वृद्धि दर कायम गर्दै दोस्रो प्रभावशाली प्रदर्शन गरेको देखिन्छ । गत वर्ष कम्पनीले २९ करोड दुई लाख रुपैयाँ आर्जन गरेको थियो ।
अन्य कम्पनीहरूको कात्तिक महिनाको कारोबार यस प्रकार रहेको छ ''सानिमा जिआईसी इन्स्योरेन्स ३३ करोड ८५ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ३२ करोड ३३ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स २८ करोड ५२ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स २८ करोड २९ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स २३ करोड ६६ लाख रुपैयाँ, नेको इन्स्योरेन्स २१ करोड ९८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्स १९ करोड आठ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स १६ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्स १५ करोड १४ लाख रुपैयाँ, द ओरियण्टल इन्स्योरेन्स १३ करोड ५५ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्स ८ करोड १० लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले दुई करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।''

स्थानीय राजनीतिक उतार–चढाव, राजाबादी आन्दोलन, जेन–जी आन्दोलन जस्ता घटनाबाट भएका क्षतिले बीमाको आवश्यकता राज्यदेखि सर्वसाधारणसम्म व्यापक रूपमा अनुभूत भएको छ । जोखिम न्यूनिकरणका लागि बीमा अपरिहार्य रहेको निष्कर्षसँगै सरकारले समेत सरकारी सम्पत्तिको बीमा प्रक्रिया अघि बढाएको छ।





































