काठमाडौँ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा कुमारी बैंकको खुद नाफा र ब्याज आम्दानीमा कमी आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आव २०८१र८२ को दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंकको नाफा र आम्दानीमा कमी देखिएको हो।
यस अवधिमा बैंकको खुद नाफा आर्जनमा ६८.२० प्रतिशतले गिरावट आएको छ । दोस्रो त्रैमाससम्ममा बैंकले २७ करोड ५७ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्ममा भने बैंकको खुद नाफा ८६ करोड ७२ लाख रुपैयाँ थियो ।
त्यस्तै, बैंकको नाफासँगै खुद ब्याज आम्दानीमा पनि कमी आएको छ। समीक्षा अवधिमा बैंकले ५ अर्ब ३१ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ। यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा भने ७.१९ प्रतिशतले कम हो।
बैंकको सञ्चालन मुनाफा घटेको छ। अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा १ अर्ब ४९ करोड रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा घटेर ७२ करोड १५ लाखमा झरेको छ। यो अवधिसम्म बैंकले १५ अर्ब २६ करोड रुपैयाँ बराबरको रिजर्भ गरेको छ।
बैंकको रिटेन्ड अर्निङ भने ६ अर्ब ४७ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ। दोस्रो त्रैमाससम्ममा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह बढेको छ । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १५.११ प्रतिशतले बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खुद सञ्चालन आम्दानी ४ अर्ब ४८ करोड रुपैयाँबाट घटेर ३ अर्ब ८१ करोड रुपैयाँमा सीमित बनेको छ । निक्षेप संकलन ३ खर्ब ३३ अर्ब रुपैयाँबाट बढेर ३ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ ।
































