काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले हाल जारी आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याउने प्रतिवद्धता जनाएको छ।
संघले बीमित सवारी साधन र भौतिक संरचनामा भएको क्षतिको यथार्थ विवरणसहित आवश्यक कागजात चाँडै बीमा कम्पनीमा बुझाउन बीमितहरूलाई आग्रह गरेको छ। साथै, बीमा कम्पनीहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अघि बढाइरहेको विज्ञप्तिमा उल्लेख छ।
संघले आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
संघका अध्यक्ष राजेन्द्र मल्लका अनुसार, बीमा कम्पनीहरूले दावी प्रक्रिया छिटो टुंग्याउन प्रतिबद्ध छन्। उनले बीमित पक्षलाई आवश्यक विवरण बुझाउन सहयोग गर्न पनि अपिल गरेका छन्। २०७२ को भूकम्प र कोभिड महामारीपछिका अनुभवले बीमाको महत्व झन् प्रस्ट भएको भन्दै अध्यक्ष मल्लले वर्तमान परिस्थितिमा बीमा कम्पनीहरूको सक्रियता सकारात्मक र आशाजनक रहेको बताएका छन्।





































