काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आफ्नो वित्तीय अवस्थामा उल्लेखनीय सुधार देखाएको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार प्रमुख वित्तीय सूचकहरूमा सकारात्मक प्रगति भएको छ।
यस अवधिमा बैंकले ६० करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.८३ प्रतिशतले बढी हो। गत वर्ष दोस्रो त्रैमाससम्म बैंकको खुद नाफा ५५ करोड ५८ लाख रुपैयाँ रहेको थियो।
बैंकको वितरणयोग्य मुनाफा पनि उल्लेख्य रूपमा वृद्धि भई ३० करोड ८४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०८.९२ प्रतिशतले बढी हो। यससँगै बैंकको लाभांश वितरण क्षमता ५.२० प्रतिशतबाट बढेर १०.२४ प्रतिशतमा पुगेको छ।
त्यसैगरी, बैंकको कस्ट अफ फण्ड ५.४२ प्रतिशतबाट घटेर ३.७६ प्रतिशतमा झरेको छ। हाल बैंकको खराब कर्जा अनुपात ४.७८ प्रतिशत रहेको छ भने इम्पेयरमेन्ट चार्जका लागि ३८ करोड २४ लाख रुपैयाँ व्यवस्था गरिएको छ।
दोस्रो त्रैमासको अन्त्यसम्म बैंकको कुल निक्षेप ९१ अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ७२ अर्ब ९४ करोड रुपैयाँ कायम भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा वृद्धि भएको हो।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २१.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.५९ रुपैयाँ, मूल्य–आम्दानी अनुपात १८.५३ गुणा र तरलता अनुपात २५.२७ प्रतिशत रहेको छ।

































