काठमाडौं। चालु आर्थिक वर्षको पाँच महिनामा ५ अर्ब ६९ करोड रुपैयाँ बराबरका बीमा पोलिसी सरेण्डर भएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म ३७ हजार १४९ बीमितले बीमा पोलिसी सरेण्डर गरेका हुन्।
बीमा प्राधिकरणको तथ्यांकअनुसार गत वर्षको सोही अवधिसँग तुलना गर्दा सरेण्डरको संख्या १७ प्रतिशतले घटेको देखिन्छ। गत वर्ष पाँच महिनामा ४५ हजार ६० जना बीमितले ६ अर्ब ७२ करोड १० लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका थिए।
बीमा प्राधिकरणको नियामावलीअनुसार, बीमितहरूले कम्तीमा तीन वर्षसम्म निरन्तर प्रिमियम बुझाइसकेपछि मात्र बीमा पोलिसी सरेण्डर गर्न पाउने व्यवस्था छ। यस अर्थमा, बीमा पोलिसी खरीद गरी तोकिएको अवधि पूरा नगरी त्याग गर्नु नै बीमा सरेण्डरको श्रेणीमा पर्छ।
बीमितहरूले बीमा खरीद गरेपछि समय–समयमा बीमा प्रिमियम बुझाउनुपर्ने हुन्छ। कतिपय कारणवश प्रिमियम बुझाउन छोड्दा वा रकम फिर्ता लिन आग्रह गर्दा बीमा पोलिसी सरेण्डर हुने गर्दछ।
































