काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरूले करिब पौने ८ खर्ब रुपैयाँ लगानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार तीन महिनाको अवधिमा १४ वटा जीवन बीमाकर्ता कम्पनीहरूले ७ खर्ब ८९ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ लगानी गरेका छन्।
यस अवधिमा सबैभन्दा धेरै लगानी नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा भएको छ, जहाँ बीमा कम्पनीहरूले ९ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ लगानी गरेका छन्। त्यस्तै, वाणिज्य बैंकको मुद्दति निक्षेपमा ५ खर्ब ४४ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ, पूर्वाधार बैंकमा ७ अर्ब १७ करोड रुपैयाँ, विकास बैंकमा ४६ अर्ब ९१ करोड ७८ लाख रुपैयाँ, र फाइनान्स कम्पनीहरूमा ६ अर्ब ७५ करोड २५ लाख रुपैयाँ निक्षेप गरिएको छ।
बीमा कम्पनीहरूले अचल सम्पत्ति तथा पुँजी बजारतर्फ पनि उल्लेख्य लगानी गरेका छन्, जसअन्तर्गत घरजग्गामा ७५ करोड ८१ लाख रुपैयाँ, सूचीकृत कम्पनीका साधारण शेयरमा ३७ अर्ब ७१ करोड ४ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाका अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ७१ अर्ब १ करोड ६ लाख रुपैयाँ, तथा सूचीकृत कम्पनीका बन्ड तथा डिबेन्चरमा ११ अर्ब २७ करोड ८७ लाख रुपैयाँ लगानी गरिएको छ।
उद्योग तथा पूर्वाधार क्षेत्रमा पनि जीवन बीमाकर्ताहरूको सक्रिय लगानी रहेको छ। कृषि उत्पादन तथा वितरण, शीत भण्डार, पर्यटन, गृह, जलविद्युत र सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा बीमा कम्पनीहरूले ११ अर्ब ६९ करोड ३० लाख रुपैयाँ लगानी गरेका छन्। त्यहाँबाहेक नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा ८ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीमा २ अर्ब ७३ करोड ७० लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा १६ अर्ब ३२ करोड ५० लाख रुपैयाँ, असूचीकृत पब्लिक कम्पनीमा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ, तथा अन्य विविध लगानीमा १२ अर्ब ८६ करोड ५२ लाख रुपैयाँ लगानी भएको छ।
समिक्षा अवधिमा सबैभन्दा बढी लगानी गर्ने कम्पनी नेपाल लाइफ रहेको छ, जसले २ खर्ब २ अर्ब ५८ लाख रुपैयाँ लगानी गरेको छ। त्यसपछि लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल ले विभिन्न क्षेत्रमा १ खर्ब १९ अर्ब ५७ करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ। अन्य कम्पनीहरूमा हिमालयन लाइफले ८२ अर्ब १ करोड ८१ लाख, नेशनल लाइफले ७० अर्ब ६२ करोड १५ लाख, राष्ट्रिय बीमा कम्पनीले ६६ अर्ब ९१ लाख, एशियन लाइफले ४९ अर्ब २३ करोड ९७ लाख, सूर्यज्योति लाइफले ४३ अर्ब ६४ करोड १७ लाख, मेट लाइफले ३२ अर्ब ९३ करोड ५ लाख, सिटिजन लाइफले २६ अर्ब ५१ करोड ७ लाख, सानिमा रिलायन्स लाइफले २३ अर्ब ७९ करोड १६ लाख, रिलायबल नेपाल लाइफले २० अर्ब ६९ करोड ६० लाख, आइएमई लाइफले १९ अर्ब २२ करोड १६ लाख, प्रभु महालक्ष्मी लाइफले १८ अर्ब १० करोड ३३ लाख, तथा सन नेपाल लाइफले १५ अर्ब ४६ करोड ७ लाख रुपैयाँ लगानी गरेका छन्।

बीमाशुल्क संकलनको आधारमा पनि नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ। कम्पनीले १६ लाख ७४ हजार ६४१ बिमालेखमार्फत १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। दोस्रो स्थानमा रहेको नेशनल लाइफले १३ लाख ५८ हजार ७९८ बिमालेखमार्फत ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ संकलन गरेको छ। एलआइसी नेपालले ६ लाख ९२ हजार ८०१ पोलिसी बिक्री गर्दै ४ अर्ब ९८ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५ लाख ९३ हजार २२९ बिमालेखका माध्यमबाट ४ अर्ब ५३ करोड रुपैयाँ, र हिमालयन लाइफले ४ अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
त्यसैगरी, सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब २६ करोड रुपैयाँ, सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ८१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ६६ करोड रुपैयाँ, तथा आइएमई लाइफले १ अर्ब ५१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यस अवधिमा सन नेपाल लाइफले ९५ करोड ७२ लाख रुपैयाँ संकलन गरेको प्राधिकरणले जनाएको छ ।





































