काठमाडौँ । जीवन बीमा कम्पनीहरूले एक महिनामै साढे १९ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीहरूले चालु आवको पहिलो महिनामै १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन्। यो अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा करिब ६ प्रतिशत मात्र बढी हो। अघिल्लो आवमा यस अवधिसम्म जीवन बीमा कम्पनीहरूले १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए।
सबैभन्दा बढी संकलन नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ। कम्पनीले ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ प्रिमियम संकलन गर्दै कुल बीमाशुल्क आर्जनको ३१।५० प्रतिशत भाग ओगटेको छ।
नेशनल लाइफले २ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ संकलन गर्दै दोस्रो स्थान कायम गरेको छ। यसैगरी, एलआइसी नेपालले २ अर्ब ३ करोड ९९ लाख, हिमालयन लाइफले २ अर्ब २ करोड ८१ लाख, सूर्यज्योति लाइफले १ अर्ब २४ करोड ५२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्।
त्यस्तै, एशियन लाइफले ९४ करोड ५८ लाख, सिटिजन लाइफले ८५ करोड ६४ लाख, सानिमा रिलायन्स लाइफले ७१ करोड ९५ लाख, आइएमई लाइफले ६७ करोड ५ लाख, प्रभु महालक्ष्मी लाइफले ६१ करोड ६८ लाख र रिलायबल नेपाल लाइफले ५८ करोड १७ लाख रुपैयाँ संकलन गरेका छन्।
यस्तै, मेट लाइफले ५३ करोड १७ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ४३ करोड ३९ लाख र सन नेपाल लाइफले ३६ करोड ५२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्।





































