काठमाडौं । जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमाससम्म को वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार, समग्र जीवन बीमा क्षेत्रले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा करिब २ अर्ब रुपैयाँको नाफा सङ्कलन गर्न सफल भएको छ ।
प्रकाशित विवरणअनुसार, जीवन बीमकहरूको कुल नाफा असोज मसान्तसम्म १ अर्ब ९७ करोड २४ लाख रुपैंया भन्दा माथि पुगेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशतले बढी हो, गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरूले १ अर्ब ९२ करोड ४१ लाख रुपैंया खुद नाफा कमाएका थिए ।
समग्रमा, अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ११ वटा कम्पनीहरूले नाफा बढाउन सफल भएका छन् भने ३ वटा कम्पनीहरू घाटामा गएका छन्।
धेरै नाफा आर्जन गर्ने शीर्ष ३ कम्पनीहरू
पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा आर्जन गर्ने कम्पनीहरूमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स् अगाडि देखिएको छ । कम्पनीले यस त्रैमासमा २५ करोड ८५ लाख रुपैंया खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा १९ करोड ९३ लाख रुपैंया थियो । यसरी कम्पनीको नाफामा २९.६५ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ ।
त्यसैगरी दोस्रोमा रहेको सन नेपाल लाइफ इन्स्योरेन्सले नाफा वृद्धिमा सबैभन्दा ठूलो फड्को मारेको छ । यस त्रैमाससम्म कम्पनीले २३ करोड ९२ लाख रुपैंया नाफा कमाएको छ, जुन अघिल्लो वर्षको १६ करोड ६१ लाखको तुलनामा ४४ प्रतिशतको विशाल वृद्धि हो।
तेस्रो स्थानमा रहेको नेपाल लाइफले समीक्षा अवधिमा २१ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष २० करोड ५४ लाख रुपैयाँ रहेको नाफामा ४.९४ प्रतिशतको सुधार देखिएको छ ।
सबैभन्दा कम नाफा आर्जन गर्ने कम्पनीहरू
केही कम्पनीहरूको नाफामा भने ठूलो गिरावट आएको छ । सबैभन्दा कम नाफा आर्जन गर्ने कम्पनी राष्ट्रिय जीवन वीमा कम्पनि रहेको छ । यो कम्पनीले सबैभन्दा कम, अर्थात् १२ लाख १२ हजार रुपैंया मात्र नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको २२ लाख ६७ हजारको तुलनामा यसको नाफा ४६।५४ प्रतिशतले घटेको छ ।
त्यसैगरी दोस्रो स्थानमा रहेको प्रभू महालक्ष्मी लाइफ इन्स्यारेन्स्को नाफामा पनि ठूलो गिरावट आएको छ । चालु त्रैमासमा ६ करोड ३७ लाख खुद नाफा कमाएको कम्पनीले अघिल्लो वर्ष १२ करोड ६२ लाख नाफा कमाएको थियो । यसको नाफामा ४९.४८ प्रतिशतको गिरावट देखिएको छ ।
तेस्रोमा रहेको हिमालयन लाइफ इन्स्योरेन्स्को नाफामा झन्डै आधाले कमी आएको छ। कम्पनीले यो त्रैमासमा १२ करोड ७७ लाख खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको २५ करोड ३७ लाखको तुलनामा ४९.६५ प्रतिशतले कम हो ।
समग्रमा जीवन बीमा क्षेत्रले नाफामा सामान्य वृद्धि गरे पनि केही कम्पनीहरूले प्रगति गरेका छन् भने केही कम्पनीको वित्तीय अवस्थामा सुधार गर्नुपर्ने देखिएको छ ।






































