काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
दीपक बोहराले सरकारलाई ढाँटेर झुटो विवरण बुझाएर नियुक्ति लिएको आरोप लगाउँदै अध्यक्ष ओझाविरुद्ध उजुरी हालेका हुन् । उजुरी पत्रमा बोहराले छानविन गरी कारबाहीको मागसमेत राखेका छन् ।
‘ओझाले अध्यक्ष नियुक्ति प्रक्रियामा बुझाएको अनुभवसम्बन्धी अधिकांश प्रमाणहरू झुटा हुन्,’ आरोपपत्रमा भनिएको छ, ‘नेपाल सरकारलाई झुटा विवरण बुझाएर लाखौंलाख बीमितहरूले तिरेको करिब सात खर्ब रुपैयाँको सदुपयोग गरी बीमितको हीत र देशविकासमा योगदान दिनुपर्ने नियामक निकाय नेपाल बीमा प्राधिकरणजस्तो निकायमा नियुक्ति लिन सफल भएका ओझामाथि छानविन गरी तत्काल कारबाही गर्नुपर्छ ।’
उजुरीपत्रमा अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको नियुक्ति र मनोनयसम्बन्धी मापदण्ड २०७३ (पहिलो संशोधन) ले प्राधिकरणको अध्यक्ष बन्न ३५ वर्ष नाघेको हुनुपर्ने भनिएको भएता पनि ओझाको उमेर ३३ वर्ष मात्रै भएकोले उनी प्राधिकरणको अध्यक्ष बन्न लायक नभएको भनिएको छ ।
फागुन २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरण कै इतिहासमा सबैभन्दा कान्छो उमेरले जम्मा ३३ बर्षका ओझालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।






































