काठमाडौं। गत दशैंको समयमा परेको अविरल वर्षा तथा त्यसबाट उत्पन्न बाढी–पहिरोका कारण भएको क्षतिमा हालसम्म साढे १९ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी भएको छ।
बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेको कुल ७९९ वटा बीमा दाबीबाट करिब ४ अर्ब १९ करोड रुपैयाँ बराबरको दाबी परेकोमा अहिलेसम्म २०९ वटा दाबीको १९ करोड ६४ लाख रुपैयाँ बीमितलाई भुक्तानी गरिएको हो।
प्राधिकरणले विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्यांकका आधारमा सार्वजनिक गरेको विवरणअनुसार, सम्पत्ति बीमातर्फ ४१९ वटा प्रारम्भिक दाबीबाट करिब ३ अर्ब ५८ करोड ५४ लाख रुपैयाँ बराबरको दाबी परेको छ। तीमध्ये ५३ वटा दाबीको करिब १६ करोड ४४ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।
इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीबाट करिब ५२ करोड ३० लाख रुपैयाँ बराबरको दाबी परेकोमा ९ वटा दाबीको करिब १ करोड ४० लाख रुपैयाँ बीमितलाई भुक्तानी गरिएको छ।
यसैगरी, कृषि तथा बाली बीमातर्फ परेका २१७ वटा प्रारम्भिक बीमा दाबीबाट करिब ४ करोड १७ लाख रुपैयाँ बराबरको दाबीमध्ये १२७ वटा दाबीको करिब ५० लाख रुपैयाँ भुक्तानी भएको छ। मोटर बीमा ९निजी० तर्फ ४० वटा दाबीबाट करिब २ करोड ८२ लाख रुपैयाँ दाबी परेकोमा १७ वटा दाबीको करिब १ करोड २७ लाख रुपैयाँ भुक्तानी गरिएको छ।
सामुद्रिक बीमातर्फ परेका ४ वटा प्रारम्भिक बीमा दाबीबाट करिब १० लाख ६५ हजार रुपैयाँ बराबरको दाबीमध्ये ३ वटा दाबीको करिब ३ लाख २७ हजार रुपैयाँ बीमितलाई भुक्तानी भइसकेको छ।
यस्तै, मोटर बीमा (सार्वजनिक) तर्फ परेका कुल १० वटा दाबीको करिब १ करोड १९ लाख रुपैयाँ तथा लघु बीमातर्फ परेका २ वटा प्रारम्भिक दाबीको करिब १२ लाख रुपैयाँ बराबरको बीमा दाबी रकम भने भुक्तानी हुन बाँकी रहेको बीमा प्राधिकरणले जनाएको छ।
































