काठमाडौँ चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो चार महिनामा देशभर सक्रिय बीमालेख संख्या १६.३६ प्रतिशतले वृद्धि भएको छ। गत आवको यही अवधिमा १ करोड ३८ लाख ४ हजार ६४७ रहेका सक्रिय बीमालेख चालु आवमा १ करोड ६० लाख ६३ हजार ४७८ पुगेको बीमा व्यवसायीहरूले जनाएका छन्।
प्रदेश अनुसार विवरण हेर्दा, कर्णाली प्रदेशमा सक्रिय बीमालेख संख्या १३५.६३ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै, बागमती प्रदेशमा सक्रिय बीमालेख संख्या ५.४२ प्रतिशतले वृद्धि भई १ करोड ३ लाख १३ हजार ४८७ पुगेको छ। गत आवको चार महिनामा यो संख्या ९७ लाख ८३ हजार ५२५ थियो।
यता, कोशी प्रदेशमा बीमालेख संख्या ६२.६४ प्रतिशतले वृद्धि भई १७ लाख ९० हजार ६७ पुगेको छ। गण्डकी प्रदेशमा बीमालेख ९०.०९ प्रतिशतले वृद्धि भएर १० लाख ३ हजार ८२ पुगेको छ भने लुम्बिनी प्रदेशमा ९.४८ प्रतिशत वृद्धि हुँदै ११ लाख ८ हजार ३७४ पुगेको छ।
गत आवमा यी प्रदेशका बीमालेख क्रमशः ५ लाख २७ हजार ६७९ र १० लाख १२ हजार ४१७ थिए।मुलुकभर बीमालेख संख्यामा बागमती प्रदेशको वर्चस्व कायम रहँदा कर्णाली प्रदेश अझै कमजोर देखिएको छ।

































