वाणिज्य बैंकहरूको औसत आधार दर पछिल्लो एक वर्षको अवधिमा २.०४ प्रतिशत विन्दुले कमी आएको छ । २०८२ सालको असार महिनाका लागि औसत आधार दर ६.१८ प्रतिशत कायम भएको छ, जुन २०८१ सालको असारमा ८.२२ प्रतिशत थियो।
ब्याजदरको प्रमुख निर्धारक मानिने आधार दर घट्दै जाँदा ग्राहकसँग बैंकले लिने ब्याजदर कम हुँदै गएको हो। पछिल्लो १ वर्षको अवधिमा मात्रै वाणिज्य बैंकहरुको औसत आधार दर २.०४ प्रतिशत विन्दुले घटिसकेको तथ्यांकमा उल्लेख छ।
हाल स्टान्डर्ड चार्टर्ड बैंकको आधार दर सबैभन्दा कम ४.९० प्रतिशत छ भने राष्ट्रिय वाणिज्य बैंकको ४.९७ प्रतिशत रहेको छ। त्यस्तै, ५ वटा वाणिज्य बैंकको आधार दर ६ प्रतिशतभन्दा कम छ। अर्कोतर्फ, सबैभन्दा उच्च आधार दर रहेको बैंक एनआईसी एशिया बैंक हो, जसको आधार दर ७.२३ प्रतिशत पुगेको छ।
बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि बैंकहरूले लगातार निक्षेपमा दिइने ब्याजदर घटाउने नीति अपनाउँदै आएका छन्। निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको आधार दरमा पनि गिरावट आएको हो। अहिले बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएर बसेको छ । ऋण दिन पर्याप्त पैसा हुँदाहुँदै पनि कर्जाको माग कम छ ।
तथापि, पछिल्लो समय कर्जा प्रवाहमा बिस्तारै केही सुधार भने हुँदै गएको छ । पछिल्लो १० महिनाको तथ्यांक हेर्दा वाणिज्य बैंकहरुको कर्जा प्रवाह बढ्न थालेको देखिन्छ । कर्जाको ब्याजदर आधार दरमा प्रिमियम थप गरेर निर्धारण गरिने भएकाले, आधार दर घट्दा कर्जाको ब्याजदर पनि स्वाभाविक रूपमा घट्ने गर्दछ।
गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। यता, चालु आर्थिक वर्षको ११ महिनामा निक्षेप संकलन ८.७५ प्रतिशतले बढेर ६२ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । असार मसान्तसम्म वाणिज्य बैंकहरुले ५७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
तालिकामा हेर्नुहोस्







































