काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)सम्म पौन ६५ अर्ब रुपैयाँभन्दा बढी विभिन्न क्षेत्रमा लगानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले असोज मसान्तसम्म कुल ६४ अर्ब ८७ करोड ८३ लाख रुपैयाँ लगानी गरेका छन्। यो मध्ये सबैभन्दा ठूलो हिस्सा ७३.१९ प्रतिशत अर्थात् ४७ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा रहेको छ।
क वर्गका बैंकहरूमा मात्र ४१ अर्ब ५६ करोड रुपैयाँ, ख वर्गमा ४ अर्ब ८२ करोड ७५ लाख रुपैयाँ, र ग वर्गका वित्तीय संस्थामा १ अर्ब ९ करोड ४८ लाख रुपैयाँ मुद्दति निक्षेपका रूपमा लगानी गरिएको छ। त्यसैगरी बीमकहरूले सरकारी बचतपत्र तथा ऋणपत्रमा ८२ करोड २६ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीहरूको शेयरमा ५ अर्ब १६ करोड २ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरूका अग्राधिकार शेयर, बन्ड र डिबेन्चरमा २ अर्ब ७७ करोड ७ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीका बन्ड तथा ऋणपत्रमा २ अर्ब १५ करोड ३६ लाख रुपैयाँ, नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा १ अर्ब ३६ करोड ६० लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीका शेयरमा १४ करोड २१ लाख रुपैयाँ, संस्थापक शेयरमा २ अर्ब ८० करोड ९९ लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीका शेयरमा १ करोड ४८ लाख रुपैयाँ लगानी गरेका छन्।
कृषि उत्पादन तथा वितरण, शीत भण्डारण, पर्यटन, जलविद्युत, सौर्य तथा नवीकरणीय ऊर्जा, केबलकार, सडक, प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा १ अर्ब २९ करोड ५२ लाख रुपैयाँ तथा अन्य क्षेत्रमा ८५ करोड ८३ लाख रुपैयाँ लगानी गरिएको छ। बीमा कम्पनीहरूको व्यक्तिगत लगानी हेर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ, जसको कुल लगानी ७ अर्ब ६० करोड ३ लाख रुपैयाँ छ। त्यसपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ७ अर्ब १५ करोड २१ लाख रुपैयाँ र नेको इन्स्योरेन्सको ६ अर्ब ६९ करोड ६३ लाख रुपैयाँ लगानी छ। राष्ट्रिय बीमा कम्पनीले ५ अर्ब ७० करोड ७६ लाख रुपैयाँ, र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५ अर्ब ६ करोड ३१ लाख रुपैयाँ लगानी गरेका छन्।
त्यस्तै, शिखर इन्स्योरेन्सको लगानी ४ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ४ अर्ब ८० करोड ४६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीको ४ अर्ब ७० करोड १५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ३ अर्ब ८८ करोड १९ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको ३ अर्ब ७४ करोड १२ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सको ३ अर्ब २६ करोड ३२ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सको ३ अर्ब १३ करोड रुपैयाँ, नेसनल इन्स्योरेन्सको २ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ, र प्रभु इन्स्योरेन्सको २ अर्ब ५४ करोड ७ लाख रुपैयाँ रहेको छ।





































