काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुले ८ अर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन र भदौ महिनामा निर्जीवन बीमा कम्पनीहरुले कुल ८ अर्ब १२ करोड ८१ लाख ८७ हजार रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन्। यो रकम गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ४.९२ प्रतिशतले बढी हो।
बीमा शुल्क आर्जन गर्ने क्रममा सबैभन्दा अगाडि सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। कम्पनीले दुई महिनामा ८९ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ, तर यो अघिल्लो वर्षको तुलनामा ११.६३ प्रतिशतले कम हो। त्यसपछि शिखर इन्स्योरेन्स रहेको छ। कम्पनीले ८४ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा १७.२६ प्रतिशतले बढी हो।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७७ करोड ३३ लाख आर्जन गरेको छ, जसमा ४.९२ प्रतिशतको कमी आएको छ।
त्यस्तै, दि ओरियन्टल इन्स्योरेन्सले ३४ प्रतिशत वृद्धि गर्दै ५९ करोड ५० लाख आर्जन गरेको छ भने नेको इन्स्योरेन्सको शुल्क १.५१ प्रतिशतले घटेर ५८ करोड १ लाखमा सीमित भएको छ। युनाइटेड अजोड इन्स्योरेन्सको शुल्क २६.२८ प्रतिशतले बढेर ५७ करोड ४८ लाख पुगेको छ। सानिमा जिआईसीको शुल्क २४ प्रतिशतले बढेर ४९ करोड ३७ लाख पुगेको छ भने नेपाल इन्स्योरेन्सले १५.७५ प्रतिशत वृद्धि गर्दै ३६ करोड ८२ लाख आर्जन गरेको छ।
अन्य कम्पनीहरूमध्ये नेशनल इन्स्योरेन्सले ६ प्रतिशत कमीका साथ ३५ करोड २ लाख, प्रभु इन्स्योरेन्सले ९.८९ प्रतिशत वृद्धि गर्दै ३२ करोड ३२ लाख, र राष्ट्रिय बीमा कम्पनीले ४५.९४ प्रतिशत घटाएर २९ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।





































