काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले जारी गरेको “७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०” चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ । बैंकले प्रति इकाइ एक हजार रुपैयाँ अंकित मूल्यमा जम्मा ३ अर्ब रुपैयाँ बराबरका कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।
हालसम्म १ करोड २० लाखभन्दा बढी कित्ताका लागि आवेदन प्राप्त भइसकेको हो । २०८२ असार ३० देखि साउन १ सम्म खुला रहेको यो निष्काशनमा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कुल कित्तामध्ये १८ लाख कित्ता निजी प्लेसमेन्टमार्फत र १२ लाख कित्ताहरू सर्वसाधारणका लागि प्रस्ताव गरिएको थियो । जसमध्ये ५% (६०,००० कित्ता) म्युचुअल फण्डहरूका लागि सुरक्षित राखिएको थियो ।
१० वर्ष अवधिका लागि जारी उक्त ऋणपत्रमा ७% वार्षिक आकर्षक ब्याजदर रहेको थियो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २०८२ ज्येष्ठ ७ मा यो निष्काशनलाई स्वीकृति प्रदान गरेको थियो भने नबिल इन्भेस्टमेन्ट बैंकिंङ्ग लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।


































