काठमाडौँ । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनाको अवधिमा करिब ६० अर्ब रुपैयाँ बराबरको नवीकरण बीमा शुल्क आर्जन गरेका छन्। नेपालमा हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले मंसिर मसान्तसम्म ५९ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
कम्पनीहरूले आर्जन गरेको नवीकरण बीमा शुल्क गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १५.०८ प्रतिशतले बढी हो।
नवीकरण बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। पाँच महिनाको अवधिमा नेपाल लाइफको नवीकरण बीमा शुल्क ५.४० प्रतिशतले बढेर १६ अर्ब २४ करोड ८० लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कम्पनीले १५ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेको थियो।
त्यसैगरी, एलआईसी (नेपाल) लिमिटेड नवीकरण बीमा शुल्क संकलनको आधारमा दोस्रो स्थानमा रहेको छ। कम्पनीको नवीकरण बीमा शुल्क गत आवको तुलनामा ३.६९ प्रतिशतले बढेर करिब ६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। यता, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क १४.१९ प्रतिशतले बढेर ६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको नवीकरण बीमा शुल्क ४.४९ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब ४ करोड रुपैयाँ कायम भएको छ।
सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नवीकरण बीमा शुल्कमा उल्लेख्य वृद्धि देखिएको छ। कम्पनीको नवीकरण बीमा शुल्क १८२.३६ प्रतिशतले बढेर ५ अर्ब २ करोड रुपैयाँ पुगेको छ। यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सको नवीकरण बीमा शुल्क १५.०८ प्रतिशतले बढेर ३ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ भने एशियन लाइफ इन्स्योरेन्सको नवीकरण बीमा शुल्क ७.९१ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ।
समीक्षा अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सको नवीकरण बीमा शुल्क २२.२१ प्रतिशतले बढेर २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नवीकरण बीमा शुल्क पनि ८.१५ प्रतिशतले बढेर २ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। अन्य कम्पनीतर्फ हेर्दा पछिल्लो पाँच महिनामा मेट लाइफले २ अर्ब ३ करोड रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब ६५ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ६१ करोड रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब २५ करोड रुपैयाँ बराबरको नवीकरण बीमा शुल्क आर्जन गरेका छन्।
सबै जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क संकलन (रु. लाखमा)


































