काठमाडौँ । नेपाल राष्ट्र बैंकको स्वीकृति पाएसँगै पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको संस्थापक शेयर बेचेर बाहिरिने प्रक्रिया सकिएको छ ।
हबिबसँग रहेको सबै २ करोड ८० लाख १२ हजार ४ सय ४७ कित्ता संस्थापक शेयर बेच्नका लागि शुक्रबार सार्वजनिक सूचना प्रकाशन गरिएको हो । हिमालयन रिइन्स्योरेन्सले उक्त शेयर खरिद गर्नेगरी सहमति भइसकेको छ । औपचारिक प्रक्रिया पूरा गर्नका लागि शुक्रबार सार्वजनिक सूचना जारी गरिएको हो ।
अहिलेसम्म राष्ट्र बैंकले स्वीकृति नदिँदा हबिब बैंक बाहिरिने प्रक्रिया रोकिएको थियो । पाकिस्तानको हबिब बैंकले वि.सं. २०७६ मै हिमालयन बैंकको शेयर बेचेर बाहिरिन खोजेको थियो ।
संस्थापक शेयर किन्न विद्यमान संस्थापक सेयरधनीलाई नै पहिलो प्राथमिकता दिनुपर्ने नीतिगत व्यवस्थाका कारण उसले बाहिरी पक्षलाई बिक्री गर्न पाएको थिएन ।


































