काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेको विषयलाई लिएर पोखरामा पार्टीका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् । सहकारी पीडितहरूले सोही स्थानमा सभापति लामिछाने विरुद्ध आन्दोलन गरिरहेको समयमा लामिछानेका समर्थक तथा पार्टीका नेता कार्यकर्ताले समेत आमनेसामने भएर प्रदर्शन गरिरहेका छन् ।
रविको पक्राउको विषयलाई लिएर पक्ष विपक्षमा तत्काल रिहाइ तथा कानुन बमोजिम कारबाहीको माग गर्दै प्रदर्शन चर्किएको छ । उक्त स्थिति चर्किँदै गएसँगै पोखरामा तनावको अवस्था सिर्जना भएको छ। रास्वपाले सहिद चोकदेखि नेता कार्यकर्ता र शुभेच्छुक भेला गरेर प्रदर्शन गरिरहेको छ ।
साथै, सहिद चोक नजिकै सहकारी पीडितको आन्दोलन चर्किएको छ । मुस्ताङ चोकमा भेला भएर पीडितहरूले राष्ट्र बैंक चोकसम्म प्रदर्शन गर्ने तयारी थालेका छन् । । दुवै पक्षले नजिक नजिकै प्रदर्शन गर्ने भएपछि झडपको स्थितिलाई मध्यनजर गरेर बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
दुई पक्षीय प्रदर्शन हुन थालेपछि कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रदर्शनमा उत्रिएका दुवै पक्षलाई संयमित रहन अपिल गर्दै अनुसन्धानमा सहयोग गर्न सम्बद्ध सबैमा आग्रह गरेका हुन् । साथै स्थिति थप तनावग्रस्त देखिएको कारण पोखरास्थित सहिद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।




































