काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन, मूल्य निर्धारण तथा बीमा क्षेत्रका समसामयिक विषयमा परामर्शदाता बीमाङ्कीसँग तीनदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। साउन २८ गतेदेखि ३० गतेसम्म ललितपुरमा सम्पन्न उक्त कार्यक्रममा बीमा क्षेत्रका विभिन्न निकायका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका परामर्शदाता बीमाङ्की शुभ्रमन्यम कोल्लिमार्लाले बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन, मूल्य निर्धारण, अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्डको कार्यान्वयन र एक्चुअरीहरूको नियुक्ति लगायतका विषयमा प्रस्तुति दिएका थिए।
कोल्लिमार्लाले बीमा सेवा आम नागरिकसम्म पुर्याउन बीमालेखमा विविधता आवश्यक भएको, नयाँ बीमा प्रणाली विकास गर्नुपर्ने, दक्ष जनशक्ति तथा पूर्वाधार तयार पार्नुपर्ने र बीमा सचेतनामा पनि व्यापक काम गर्नुपर्ने धारणा राखे।
प्रश्नोत्तर सत्रमा उनले नागरिकको आर्थिक अवस्थाअनुसार बीमालेख तयार गर्नुपर्ने, बीमा शिक्षाको पहुँच विस्तार गर्नुपर्ने र दाबी भुक्तानी लगायतका सेवाहरू प्रभावकारी बनाइनुपर्नेमा जोड दिए।
कार्यक्रमको पहिलो दिन परामर्शदाता बीमाङ्की र प्राधिकरणका कर्मचारीहरूबीच नियामकीय दृष्टिकोणमा आधारित छलफल भयो । दोस्रो दिन बीमा कम्पनीका प्रोडक्ट तथा मूल्याङ्कन विभागका प्रमुखहरूसँग अन्तरक्रिया भयो। अन्तिम दिन कार्यकारी निर्देशक सुशील देव सुवेदी र निर्देशक पूजन ढुङ्गेल अधिकारीको उपस्थितिमा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग नेपालमा बीमा पहुँच विस्तारबारे केन्द्रित छलफल गरिएको थियो।
कार्यक्रममा कार्यकारी निर्देशक सुवेदीले बीमाङ्कीय मूल्याङ्कन, जोखिममा आधारित पूँजी संरचना, सोल्भेन्सी मापदण्ड, बीमा बजारका समस्या र सुधारको सम्भाव्यतामाथि परामर्शदाताबाट राय सुझाव लिन कार्यक्रम आयोजना गरिएको बताए।
निर्देशक पूजन ढुङ्गेलले बीमा बजारको विकास र पहुँच वृद्धि गर्ने साझा उद्देश्य प्राप्त गर्न अझ परिस्कृत योजना र क्रियान्वयन आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति थियो।





































