काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको विवरणअनुसार कम्पनीले उल्लेखनीय प्रगतिसहित २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.९४ प्रतिशत वृद्धि हो।
अघिल्लो वर्ष यसै अवधिमा कम्पनीको नाफा २० करोड ५४ लाख रुपैयाँ थियो।
कुल आम्दानीतर्फ पनि कम्पनीले स्थिर प्रगति गरेको छ। पहिलो त्रैमाससम्म नेपाल लाइफको कुल आम्दानी १८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो आवको सोही अवधिमा कुल आम्दानी १७ अर्ब ९७ करोड रुपैयाँ थियो। खर्च भने केही बढेर १७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ, अघिल्लो आवमा यो १६ अर्ब ५७ करोड रुपैयाँ थियो।
दाबी भुक्तानीतर्फ कम्पनीले उच्च दायित्व वहन गरेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीले १५ अर्ब ८१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो आवको तुलनामा ३.६७ प्रतिशतले वृद्धि भएको हो। कम्पनीको महाविपत्ति कोष १ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ्समा १ अर्ब ३९ करोड रुपैयाँ सञ्चित छ। यस अवधिमा कम्पनीले ९२ हजार ९३ वटा बीमा पोलिसी जारी गर्दै ग्राहक आधार विस्तार गरेको छ।
कम्पनीका वित्तीय सूचकमध्ये प्रतिसेयर आम्दानी (EPS) ९.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३८.१४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य २,९०३.३१ रुपैयाँ तथा पी/ई अनुपात ७७.९९ गुणा रहेको छ।





































