काठमाडौँ । आर्थिक मन्दीको कारण अपेक्षित रूपमा कर्जाको माग नबढ्दा बैंकहरूमा तरलता थुप्रिएको छ। बैंक तथा वित्तीय संस्थामा कर्जा दिन मिल्ने रकम आठ खर्ब ४५ अर्ब भन्दा बढी थुप्रिएको देखिएको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ७८.०५ प्रतिशत बढी छ । बैंकहरूले थप निक्षेपको ११.९५ प्रतिशत रकम कर्जा प्रवाह गर्न पाउने नीतिगत व्यवस्था छ। पछिल्लो समय आर्थिक शिथिलतालगायतका कारण कर्जाको मागमा कमी आएको छ । त्यसले गर्दा बैंकहरूमा ऋण दिन मिल्ने रकम थुप्रिएको छ । असारमा पनि बैंकहरूको कर्जा प्रवाह न्यून रहेको देखिन्छ ।
बरु असार महिनासँगै बैंक तथा वित्तीय संस्थाहरू कर्जा प्रवाहभन्दा कर्जा असुलीमा बढी केन्द्रित भएका छन्। जस कारण अहिले बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता बढ्न थालेको छ । यता बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) घट्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, गत बिहीबारसम्म बैंकहरूको औसत सीडी रेसियो ७८.०५ प्रतिशतमा झरेको छ, जुन अघिल्लो दिनको तुलनामा ०.०८ प्रतिशत अंकले घटेको हो।
राष्ट्रबैंकको तथ्यांक अनुसार बुधवारसम्म ७० खर्ब ३५ अर्ब रुपैयाँ रहेको निक्षेप बिहीबार ७० खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। अर्थात् बिहीबार मात्र बैंकिङ प्रणालीमा ८ अर्ब रुपैयाँ निक्षेप वृद्धि भएको छ।सोही दिन कर्जा प्रवाह भने मात्र १ अर्ब रुपैयाँले बढेको छ। बुधवारसम्म ५५ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा बिहीबारसम्म ५५ खर्ब ७५ अर्ब रुपैयाँमा पुगेको छ।
बैंकहरूमा निक्षेप थुप्रिँदै जाने र कर्जा प्रवाह बढ्न नसकेर लगानीयोग्य पुँजी बढ्दै गइरहेको छ । तर, चालू आर्थिक वर्ष ०८१/८२ को जेठसम्मको तथ्यांकअनुसार अधिकांश वाणिज्य बैंकहरूको कर्जा निक्षेपको अनुपात भने ८० प्रतिशतभन्दा बढी नै देखिन्छ । वाणिज्य बैंकहरूको यस्तो अनुपात औसतमा ७८.४४ प्रतिशत पुगेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ । यद्यपि, कुल २० वटा वाणिज्य बैंकमध्ये १२ बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८० प्रतिशतभन्दा माथि छ ।
सबैभन्दा उच्च सिडी अनुपात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको छ । यो अनुपात ८५.६० प्रतिशत छ । त्यसपछि माछापुच्छे« बैंक लिमिटेडको ८४.४५ प्रतिशत, प्राइम कमर्सियल बैंक लिमिटेडको ८४.३९ प्रतिशत, एनएमबि बैंक लिमिटेड प्रतिशत र नबिल बैंक लिमिटेडको ८३.५९ प्रतिशत छ।
त्यस्तै, निक्षेपको अनुपातमा कर्जा प्रवाह सुस्त देखिएका बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (६४.३१ प्रतिशत), प्रभु बैंक लिमिटेडको (७१.५) प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ७१.५७ प्रतिशत, नेपाल एसबिआई बैंक लिमिटेडको ७२.१ प्रतिशत र नेपाल बैंक लिमिटेडको ७२.१३ प्रतिशत रहेको छ । बैंकहरुमा कर्जा प्रवाह अपेक्षित हुन सकेको देखिदैन् , कर्जाको माग नै बढ्न सकेको छैन, यसले अर्थतन्त्रमा सुधार आएको छैन भन्ने देखाउने जानकारहरुको भनाई छ ।

































