काठमाडौं । सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीहरुमध्ये ८ वटा कम्पनीले अहिलेसम्म आर्थिक वर्ष २०८१-०८२ को लागि नयाँ बोनसदर सार्वजनिक गरेका छन् । यी जीवन बिमा कम्पनीले गत आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्वको बिमांकीय मूल्यांकनको आधारमा बिमितहरुलाई प्रदान गरिने पोलिसी बोनस दर घोषणा गरेका हुन् ।
यसरी बोनसदर सार्वजनिक गर्ने कम्पनीहरु नेपाल लाइफ, नेशनल लाइफ, सूर्यज्योति, सिटिजन लाइफ, आइएमई लाइफ, सानिमा रिलायन्स, मेट लाइफ र सन नेपाल लाइफ इन्सुरेन्स रहेका छन् ।
कम्पनीहरुले घोषणा गरेको यो बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेख मा समेत लागु हुनेछ ।
नेपाल लाइफ इन्सुरेन्स
यस कम्पनीले आर्थिक वर्ष २०८१-८२ को बिमा कोषको बिमांकीय मुल्याङकन प्रतिवेदन नेपाल बिमा प्राधिकरणबाट मंसिर २३ गते स्वीकृत भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो । नयाँ बोनस दर अनुसार न्यूनतम प्रतिहजार ५५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म निर्धारण गरेको छ ।
त्यस्तै कम्पनीले सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना) विकल्प एक तथा विकल्प दुईमा न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम प्रतिहजार ६५ रुपैयाँ बोनस दर प्रदान गर्नेछ ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख (जीवन समृद्धि) बिमा योजनाको १५ र २० वर्षे अवधिको प्रतिहजार ५६ रुपैयाँ बोनस दर तोकेको छ । अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, नौलो धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदाबहार जीवन) र अग्रिम भुक्तानी सावधिक जीवन बीमा (नौलो जीवन समृद्धि) बीमा योजनामा सबै अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ बोनस दर तोकेको छ ।
नयाँ बोनसदर अनुसार कम्पनीले अन्य (जीवन सारथी) बीमा योजनामा कम्पनीले न्युनतम प्रतिहजार ६२ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।
सानिमा रिलायन्स लाइफ
यस कम्पनीले आर्थिक वर्ष २०८१-८२ को बिमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बिमालेखको बोनसदर सार्वजनिक गरेको छ । उक्त बोनसदर नेपाल बिमा प्राधिकरणबाट स्वीकृत गरेको हो ।
सार्वजनिक बोनसदर अनुसार बिमितहरुले न्युनतम प्रतिहजार १९ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।
नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमा योजना (रेगुलर) मा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म र सावधिक जीवन बीमा (एकल) योजनामा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ६५ रुपैयाँसम्म बोनस दिने भएको छ ।
नयाँ बोनसदर अनुसार १५ वर्षे भुक्तानी योजनामा सम्पूर्ण अवधिका लागि न्युनतम ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजनामा ४५ रुपैयाँ, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनामा ३० रुपैयाँ र सामुहिक सावधिक योजनामा २० रुपैयाँ बोनसदर कायम भएको छ ।
कम्पनीले सिमित भुक्तानी सावधिक योजनामा प्रतिहजार ४० रुपैयाँदेखि ६५ रुपैयाँसम्म र बाल सावधिक योजनामा न्युनतम प्रतिहजार २२ रुपैयाँदेखि ४५ रुपैयाँसम्म र बाल सावधिकं अर्को बीमा योजनामा २० रुपैयाँदेखि ३४ रुपैयाँसम्म बोनस दिने भएको छ।
मेट लाइफ
अमेरिकन लाइफ इन्सुरेन्स कम्पनी (मेट लाइफ) ले आर्थिक वर्ष २०८१-८२ को बिमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बिमालेखको बोनसदर सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बिमितहरुले न्युनतम प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म बोनसदर पाउनेछन् ।
नयाँ बोनसदर अनुसार शिक्षा संरक्षण बिमा योजनामा प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । त्यस्तै, सावधिक जीवन बिमा योजनामा प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
नेसनल लाइफ
यसले आर्थिक वर्ष २०८१-८२ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले उक्त बोनसदर नेपाल बिमा प्राधिकरणबाट स्वीकृत गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बिमितहरुले न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।
नयाँ बोनसदर अनुसार सावधिक जीवन बिमालेख योजनामा न्युनतम प्रतिहजार ६४ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनस दिने भएको ५ भने सावधिक तथा आजिवन बिमालेख योजनामा न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म रुपैयाँ बोनसदर रहेको छ ।
सिटिजन लाइफ
कम्पनीले आर्थिक वर्ष २०८१-८२ का लागि वितरण गर्ने नयाँ बोनसदर सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ बोनसदर अनुसार बिमीतले न्युनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ प्रतिहजारसम्म बोनस पाउने छन् ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बिमालेखमा बीमा अवधि अनुसार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।
नयाँ बोनसदर अनुसार कम्पनीले वार्षिक अग्रिम भुक्तानी सावधिक बिमालेखमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम २८ रुपैयाँसम्म र सिटिजन शुभारम्भ योजना (सावधिक बिमालेख) मा न्यूनतम ३९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ ।
आइएमई लाइफ
कम्पनीले आर्थिक वर्ष २०८१-८२ का लागि मुनाफामा सरिक हुने बिमालेखहरुमा न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।
कम्पनीले सावधिक, सिमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बिमा योजनामा बिमा अवधि (वर्ष) अनुसार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस (प्रति हजार) तोकेको छ ।
त्यसैगरी सामूहिक सावधिक बिमा योजनामा ३२ रुपैयाँदेखि ७५ रुपैयाँसम्म र सावधिक तथा आजीवन बिमा योजनामा ३२ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
साथै बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य, चुक्तामूल्य तथा चालू बिमालेखमा समेत लागू हुने र आगामी बीमांकीय मूल्यांकन नभएसम्म यही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।
सन नेपाल लाइफ
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सरिक हुने बिमालेखहरुमा २५ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।
नयाँ बोनसदर अनुसार सनलाइफ सावधिक जीवन बिमालेखमा बिमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस तोकिएको छ ।
यसैगरी बीमितले भाग्योदय जीवन बिमालेखमा ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म, बाल समृद्ध जीवन बिमालेखमा ३३ रुपैयाँदेखि ६० रुपैयाँसम्म, सावधिक सुनौलो जीवन बिमालेखमा ३६ रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।
कम्पनीले सुनौलो बाल समृद्ध जीवन बीमालेखमा न्युनतम प्रतिहजार ३३ रुपैयाँदेखि ६० रुपैयाँसम्म, नवीन आजीवन जीवन बीमालेखमा ३८ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनस दिने भएको छ ।
सूर्यज्योति लाइफ
कम्पनीको स्वीकृत बिमांकीय मूल्यांकन अनुसार कम्पनीले गत आवको मुनाफाबाट सरिक बिमालेखहरुमा न्युनतम २० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दिने भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०८१-८२ को बिमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बिमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बिमा प्राधिकरणबाट मंसिर २५ गते स्वीकृत गरेको हो ।
यो बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । कम्पनीले इजि पे अग्रिम भुक्तानी योजनामा न्युनतम प्रतिहजार २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।





































